तीव्रखबर
काठमाडाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह सम्पन्न भएपछि कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो।
बन्द सत्रका एजेन्डा तय गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दैछ। बैठकमा सहभागी हुन नेताहरू खुलामञ्च पुग्न थालेका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार विभिन्न समितिले तयार पारेका प्रतिवेदन तथा प्रस्ताव केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएपछि बन्द सत्र सुरु हुनेछ। समितिहरूले आफ्नो जिम्मेवारीअनुसार प्रस्ताव पेस गर्ने र त्यसलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि सोही आधारमा बन्द सत्र सञ्चालन हुने उनले बताए।
बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। त्यसैगरी पार्टीका राजनीतिक तथा समसामयिक विषयमा पनि छलफल हुनेछ।
बन्द सत्र सम्पन्न भएपछि कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशनपछि दाबी–विरोध तथा छानबिनको प्रक्रिया अघि बढाइनेछ। दाबी–विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
मंगलबार उम्मेदवारी दर्ता
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार नयाँ केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।
उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल, भेटघाट र आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासलाई तीव्र बनाउँदै आएका छन्।
प्रतिक्रिया