October 2, 2026, 12:13 pm
» कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट » साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से » ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार » पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल » मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

अशोज १६, २०८३ मा प्रकाशित | २५०४ दर्शक तीव्रखबर

सुर्खेत। ठुली भेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ। हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको ठुली भेरी नदी र टाढा देखिने मनमोहक हिमाली दृश्यले दुनैको पर्यटकीय आकर्षण ह्वात्तै बढाएको छ।

भेरी कोरिडोर हुँदै जाजरकोटबाट डोल्पा प्रवेश गर्ने पर्यटकका लागि दुनै पहिलो प्रमुख गन्तव्य हो। जिल्लाका सरकारी कार्यालयहरूको प्रशासनिक केन्द्रसमेत रहेको दुनैबाट फोक्सुन्डो ताल, शे–गुम्बा, धो तरापलगायतका विश्वप्रसिद्ध पर्यटकीय क्षेत्रहरूमा पुग्न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ बास बसेर मात्र आफ्नो मूल गन्तव्यतर्फ अघि बढ्ने गर्छन्।

केही दिनदेखि लगातार परेको वर्षा र कुहिरोले ढाकिएको दुनैमा मौसम खुलेसँगै वरिपरिका हरिया पहाड र ठुली भेरी नदीको मनमोहक दृश्य प्रस्टै देखिन थालेको छ। यहाँको अद्वितीय प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्ने गरेको स्थानीय जुना ठकुल्ला बताउँछिन्। “ठुली भेरी नदीको किनारमा रहेको दुनै बजार वरिपरिका हरिया डाँडा, सफा आकाश र नदीको कलकल आवाजले यहाँ आउने जोकोहीको मन लोभ्याउँछ,” उनले भनिन्।

लगातारको वर्षाका कारण केही दिन डोल्पाको जनजीवन, सडक यातायात र पर्यटकीय गतिविधिसमेत प्रभावित भएका थिए। खराब मौसमका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रासमेत रोकिएको थियो। यस्तो अवस्थामा पर्यटकहरूलाई मौसम र पदमार्गको वास्तविक अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरिएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन्।

मौसम खुलेसँगै दुनैको प्राकृतिक सौन्दर्य फेरि पहिलेकै अवस्थामा देखिन थालेको पर्यटन व्यवसायी जीतेन्द्र झाँक्रीले बताए। उनका अनुसार मौसम अनुकूल हुँदा दुनै वरिपरिका पहाड र हिमाली दृश्यहरूले पर्यटकहरूलाई लोभ्याउने र तानेर ल्याउने गरेका छन्।

ठुली भेरी नदीको किनारमा अग्ला पहाडहरूले घेरिएको दुनै डोल्पाको प्रशासनिक केन्द्र मात्र नभई जिल्लामा प्रवेश गर्ने पर्यटकका लागि पहिलो मुख्य आकर्षणसमेत रहेको स्थानीय शिक्षक जयकृष्ण हमाल बताउँछन्।

ठुली भेरी नगरपालिकाको केन्द्रसमेत रहेको दुनैसहित यस नगरपालिकामा ११ वटा वडाहरू रहेका छन्। नगरपालिकाको नामसमेत यही क्षेत्र हुँदै बग्ने पवित्र ठुली भेरी नदीको नामबाट राखिएको हो।

खुलेको मौसममा हिमाल र हरियालीको आकर्षण
वर्षापछि खुलेको मौसमले डोल्पाका डाँडापाखाहरू हरियालीसँगै झनै आकर्षक देखिएका छन्। सदरमुकाम दुनैबाट करिब आधा घण्टाको दूरीमा रहेको जुफाल विमानस्थल आसपासका क्षेत्रहरूबाट मुकुटेश्वरी हिमाललगायतका विभिन्न हिमाली दृश्यहरूको सहजै अवलोकन गर्न सकिन्छ। सेताम्मे हिउँले ढाकिएका हिमाल र आसपासका प्राकृतिक दृश्यहरूले पर्यटकलाई मोहित पार्ने गरेको स्थानीय शिक्षक बालकृष्ण डाँगीले बताए।

दुनै वरिपरिको भूगोल प्राकृतिक विविधताले भरिपूर्ण छ। एकातिर ठुली भेरी नदी र अर्कोतिर अग्ला पहाडका बिचमा रहेको यो बजारले हिमाली भूगोल र मानव बस्तीबिचको आत्मीय सम्बन्धलाई समेत स्पष्ट रूपमा झल्काउँछ। मौसम खुलेपछि यहाँबाट देखिने प्राकृतिक दृश्यहरूले डोल्पाको पर्यटकीय सम्भावनालाई थप उजागर गरिदिएका छन्।

सुन्दरतासँगै विपद्को जोखिम
दुनैको अद्वितीय प्राकृतिक सुन्दरता वर्षायाममा जोखिमसँग पनि उत्तिकै जोडिएको छ। बजारकै छेउबाट ठुली भेरी नदी बग्ने भएकाले वर्षातका बेला नदीको बहाव तीव्र रूपमा बढ्दा तटीय क्षेत्रका बासिन्दाहरू ठूलो जोखिममा पर्ने गरेका छन्। भारी वर्षाका बेला नदीको सतह बढेपछि बजार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन निरन्तर आग्रहसमेत गरिँदै आएको छ।

त्यसैगरी, वर्षाका कारण सडक यातायातमा पटक-पटक अवरोध सिर्जना हुँदा स्थानीयको दैनिक आवागमनसँगै पर्यटकहरूको यात्रासमेत प्रभावित हुने गरेको छ। सडक पहुँच नियमित नहुँदा स्थानीय उत्पादनहरूको बजारीकरणमा समेत ठूलो समस्या हुने गरेको शिक्षक डाँगी बताउँछन्। उनका अनुसार सडक तथा अन्य पूर्वाधारको द्रुत विकास हुन सके डोल्पाको प्राकृतिक र पर्यटकीय महत्त्व अझ बढी उजागर हुन सक्छ।

पर्यटनको प्रवेशद्वार दुनै
दुनै डोल्पाका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पुग्ने मुख्य प्रवेशद्वार हो। जिल्लामा अवस्थित विश्वप्रसिद्ध शे–फोक्सुन्डो ताल, ऐतिहासिक शे–गुम्बा, धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी मन्दिर, धो तराप र जगदुल्ला ताललगायतका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूले डोल्पालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण बनाएका छन्।

पछिल्ला वर्षहरूमा फोक्सुन्डो क्षेत्रमा पर्यटकहरूको आकर्षण तीव्र रूपमा बढे पनि सडक, सञ्चार र अन्य आधारभूत पूर्वाधारको अभाव भने प्रमुख चुनौतीका रूपमा कायमै छ। दुर्गम भौगोलिक बनावट र मौसममा हुने आकस्मिक परिवर्तनले पनि पर्यटकीय गतिविधिहरूमा बेलाबेलामा प्रतिकूल प्रभाव पार्दै आएको छ।

मौसम खुलेसँगै दुनैमा देखिएको प्राकृतिक सौन्दर्यले डोल्पाको पर्यटन सम्भावनालाई पुनः उजागर गरेको छ। वर्षायामपछि मौसम अनुकूल हुँदै जाँदा जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।

डोल्पाका प्राकृतिक सम्पदाको संरक्षण, पूर्वाधारको विकास र सुरक्षित यात्राको उचित व्यवस्थापन गर्न सके यहाँको पर्यटनले स्थानीय अर्थतन्त्रमा थप महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *