October 2, 2026, 12:12 pm
» कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट » साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से » ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार » पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल » मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

सत्तापक्षलाई सांसद राईको सुझाव: आफ्नै सरकार नढाल्नुस्, विगतका घटनाबाट पाठ सिक्नुस्

अशोज १६, २०८३ मा प्रकाशित | ७०४ दर्शक तीव्रखबर

काठमाडौं। चालु संसद् अधिवेशन अन्त्य हुन लाग्दा पनि प्रतिपक्षी दलका सांसदहरूले उठाएका जनताका प्रश्न र मागबारे सरकार प्रमुखबाट पर्याप्त जवाफ नआएको भन्दै प्रतिनिधिसभा बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले अधिवेशन सकिँदै गर्दा जनताका प्रश्नको ठोस जवाफ नलिई रित्तै फर्किनुपर्ने बाध्यता सिर्जना भएको बताए।

भोजपुरका जनता र विपक्षी दलले उठाएका विषयमा अन्य मन्त्रीहरूले जवाफ दिए पनि सरकार प्रमुख (प्रधानमन्त्री) बाट अपेक्षित सम्बोधन हुन नसकेको उनको भनाइ थियो।

बहुदलीय अभ्यासमा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने उल्लेख गर्दै राईले सत्तापक्षलाई आफैँभित्रको खिचातानीबाट सरकार नढाल्न र पाँच वर्षसम्म स्थिर सरकार चलाएर जनताको अपेक्षा पूरा गर्न सुझाव दिए।

नेपालको राजनीतिक इतिहासमा विगतका ठूला दलहरूले बहुमत पाउँदा पनि अपेक्षित काम गर्न नसकेको र भ्रष्टाचार तथा जनअसन्तुष्टिका कारण उत्पन्न भएका घटनाहरूबाट पाठ सिक्न उनले आग्रह गरे। आगामी अधिवेशनमा प्रतिपक्षले माग राख्नुपर्ने अवस्था नै नआउने गरी काम गर्न सरकारलाई उनले ध्यानाकर्षण गराए।

त्यस्तै, सोही बैठकमा बोल्दै नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौँडा र मनहरी क्षेत्रका मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्नुपरेका गम्भीर समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। मध्यवर्ती क्षेत्रको कानुनी झन्झटका कारण स्थानीयले आफ्नो भत्किएको घर मर्मत गर्न र आफ्नै जग्गामा टहरासम्म बनाउन नपाएको उनले बताए।

वन्यजन्तुका कारण स्थानीयको जनजीवन कष्टकर र जोखिमपूर्ण बनेको भन्दै सांसद थेबेले साँझपख आवतजावत गर्न कठिन हुने, घरपालुवा पशुचौपाया वन्यजन्तुले खाइदिने र चित्तललगायतका जनावरसँग ठोक्किएर बर्सेनि ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था रहेको उल्लेख गरे।

मध्यवर्ती क्षेत्रका कारण स्थानीयलाई विकास निर्माण र प्राकृतिक स्रोतको उपयोगमा समेत कठिनाइ भएकाले सरकारले तत्काल ठोस पहल गर्दै मध्यवर्ती क्षेत्र सम्बन्धी समस्या समाधान गर्नुपर्ने माग उनले राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *