तीव्रखबर
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँका बेला पशुमाथि हुने क्रूरता रोक्न सरकारसँग माग गरेकी छन्।
शुक्रबार संसदमा बोल्दै तामाङले दसैँ आउन करिब १० दिन मात्र बाँकी रहेको उल्लेख गर्दै मानिसका लागि दसैँ उत्सव भए पनि निर्दोष पशुका लागि भने ‘दशा’ बन्ने गरेको बताइन्।
दसैँका नाममा खसी, बोका, राँगालगायत पशुलाई सार्वजनिक रूपमा क्रूरतापूर्वक हत्या गरी बलि दिने प्रचलनप्रति आपत्ति जनाउँदै उनले पशु कल्याणका विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताइन्। उनले भनिन्, ‘माता दुर्गाको भन्दा बढी ध्यान खसी, बोका र राँगा कसरी ढाल्ने भन्नेमा छ।’
विदेशमा पशुमाथि हुने क्रूरताविरुद्ध कानुनी कारबाही हुने व्यवस्था आफूले देखेको उल्लेख गर्दै तामाङले नेपालमा पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था कमजोर रहेको दाबी गरिन्।
पशु सेवाका नाममा बनाइएका नीतिले पशुबाट लाभ लिने विषयलाई प्राथमिकता दिए पनि उनीहरूको वास्तविक संरक्षण र कल्याणमा पर्याप्त ध्यान नदिएको उनको आरोप थियो। उनले पशु कल्याणसम्बन्धी यस्ता नीति कहिले परिवर्तन वा खारेज हुने भन्दै सरकारसँग प्रश्नसमेत गरिन्।
प्रतिक्रिया