September 26, 2026, 11:13 am
» उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो » भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो » सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा » सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो » अन्तर्राष्ट्रिय मिडिया राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा

प्रहरी गतिविधि : भारी वर्षाको सूचनादेखि सात जना पक्राउसम्म !

अशोज ८, २०८३ मा प्रकाशित | ६६०४ दर्शक तीव्रखबर

भारी वर्षाको जोखिमलाई ध्यानमा राखी तयारी अवस्थामा नेपाल प्रहरी


काठमाडौं / असोज ९ गतेदेखि १२ गते सम्म देशभरका अधिकांश स्थानमा मेघगर्जन सहित भारी वर्षा हुन सक्ने नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनालाई मध्यनजर गरी नेपाल प्रहरीको विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८३ बमोजिम जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले आवश्यक पूर्वतयारी गरेको छ ।
यस अवस्थालाई मध्येनजर गरी भारी वर्षाको अवधिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा कमाण्ड पोष्ट स्थापना गरी २४ सै घण्टा सबै सुरक्षा निकायका प्रतिनिधि उपस्थित भई उद्धार, परिचालन र समन्वयको व्यवस्था समेत गरिएको छ । तत्काल परिचालन हुन सक्ने गरी नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू समेत आवश्यक उपकरणहरू सहित तत्काल परिचालित हुनसक्ने गरी १० हजार ८५ जनाको जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
यस्तै नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट १ प्लाटुन लुम्बिनी प्रदेश र १ प्लाटुन गण्डकी प्रदेशको लागि आवश्यक विपद् उद्धारका उपकरण र ड्रोन सहितको प्रहरी जनशक्ति परिचालन गरिएको छ भने उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र सात वटै प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूमा ५ सय जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, सात वटै प्रदेश प्रहरी गण, उपत्यका प्रहरी विशेष सुरक्षा गण, नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ बाट समेत गरी जम्मा २ हजार १ सय २५ जनाको प्रहरी जनशक्ति आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा परिचालन गर्न सक्नेगरी २४ सै घण्टा स्ट्याण्डबाई अवस्थामा रहेका छन् ।
सो सन्दर्भमा सम्भावित बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण, जोखिममा रहेका नागरिकको समयमै उद्धार तथा सुरक्षित स्थानान्तरण एवं प्रभावकारी प्रतिकार्यका लागि जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, जनशक्ति तथा उद्धार टोली परिचालन, आवश्यक उद्धार सामग्रीको व्यवस्थापन, जोखिम क्षेत्रको निगरानी, माइकिङ तथा जनचेतनामूलक कार्यक्रम, आवागमन व्यवस्थापन, तटीय क्षेत्रमा गस्ती तथा अन्य सम्बन्धित निकायसँगको समन्वय लगायतका काम कारबाही र विपद् प्रतिकार्यमा गरिनुपर्ने अन्य आवश्यक कार्यहरू गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूलाई निर्देशन समेत दिइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘भारी वर्षाको जोखिमलाई ध्यानमा राखी अन्य सुरक्षा निकायहरू तथा स्थानीय तह र विभिन्न संघसंस्थाको समन्वयमा जनधनको क्षति न्यूनीकरणको लागि उद्धार सामग्रीहरू सहित वृहत्त रूपमा प्रहरी परिचालन गरिएको छ । विपद् उद्धार सम्बन्धी तालिम प्राप्त दक्ष प्रहरी कर्मचारीहरू जोखिम युक्त प्रदेशहरू पठाइएको छ भने प्रहरीका विशिष्टकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत तयारी अवस्थामा राखिएको छ ।’
यस्तै सवारीसाधन तथा पैदलयात्रीहरूको सुरक्षालाई दृष्टिगत गरी जोखिमयुक्त सिद्धिचरण लोकमार्ग-सोलुखुम्बु, टोखा छहरे सडक खण्ड-नुवाकोट, कान्ति राजमार्ग, भैंसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौं जाने सडक-मकवानपुर, बिपी राजमार्ग सबै-सिन्धुली र काभ्रे, पृथ्वी लोकमार्ग-धादिङ, नारायणगढ-मुग्लिन सडक खण्ड-चितवन, राप्ती राजमार्ग-दाङका विभिन्न स्थान, मदन भण्डारी राजमार्ग-रोल्पा लगायतका राजमार्ग एवं सडक खण्डहरूमा अत्यावश्यक बाहेक रात्रीकालीन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।
यसैगरी भारी वर्षा हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी भारी वर्षाले बाढी, पहिरो र डुबान निम्त्याउन सक्ने हुँदा विशेष गरी जोखिमयुक्त सडक र नदी आसपासका बस्तीहरूमा थप सावधानी अपनाउन नेपाल प्रहरीले माईकिङ तथा जनचेतनामूलक कार्यक्रम गरी स्थानीयहरूलाई सतर्क समेत गराई सक्रिय रूपमा कार्य गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
काठमाडौं / बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-२ बस्ने २१ वर्षीय बिनोद थारू र ३० वर्षीय बाल कुमार थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम र नगद ३३ हजार ५ सय ४० रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-८ बस्ने ३१ वर्षीय मुख्तार अहमद खाँ र सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय मोहमद वासिम खाँ रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय २० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१० बस्ने ४३ वर्षीय शिवराज राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदर्शी गाउँपालिका-६ बस्ने ३८ वर्षीय घनश्याम अधिकारी र अर्जुनधारा नगरपालिका-११ किरात टोल बस्ने पाँचथर फिदिम नगरपालिका-११ नाङगिन सिडगिनटार घर भएका ४३ वर्षीय राजु कुमार मेयोङबा रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं / गोरखा, सिरानचोक गाउँपालिका-७ अर्कुलस्थित सडकमा ग.१ ख ६३८० नम्बरको मिनि ट्रकले बाग्मती प्रदेश ०२-०३५ प ०९८६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पालुङटार नगरपालिका-१ खोप्लाङ बस्ने २९ वर्षीय अनिल श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची, सन्धीखर्क नगरपालिका -८ किमडाँडास्थित सडकमा लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ काउली चौपारी पकले बस्ने ३५ वर्षीय सुरज विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं / म्याग्दी, अन्नपुर्ण गाउँपालिका-६ खिवाङस्थित ठाडो खोल्साको छेउमा सोही ठाउँ बस्ने ५४ वर्षीय रिम बहादुर बुदुजा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-१६ बिहुली बस्ने ७० वर्षीया सुमनी थारू आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका-६ राजावारी बस्ने ५० वर्षीय शिवनाथ तेली सोही ठाउँस्थित कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं / धनुषा, जनकपुरधाम उपमहानगरपालिका-८ बलुवा टोलस्थित ठकन साहको घरमा डेरा गरी बस्ने क्षिरेश्वरनाथ नगरपालिका-१० घर भएका ३५ वर्षीय बैजु साह सुडीको कोठामा बिहीबार बिहान आगलागी हुँदा करिब २ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाँके, कोहलपुर नगरपालिका-११ पुरानो बाणिज्य बैंक नजिक रहेको लालमनि कोइरालाको घरमा सोही नगरपालिका-४ बेलनपुर बस्ने ४० वर्षीय तुल्सी कुमार थापाले संचालन गरेको पञ्चकोशी सप्लायर्स मोबाइल पसलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित डङ्डु शेर्पाको घरमा रहेको कपडा पसल र होटलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको ४ वटा घरमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो लिंक

https://www.facebook.com/share/r/1D786xH1kA/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *