September 26, 2026, 10:10 am
» उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो » भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो » सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा » सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो » अन्तर्राष्ट्रिय मिडिया राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो

अशोज १०, २०८३ मा प्रकाशित | ३००४ दर्शक तीव्रखबर

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कालीगण्डकीमा मुस्ताङतर्फबाट लेदोसहितको बाढी मिसिएर पानीको बहाव बढिरहेको भन्दै बागलुङ, पर्वत र म्याग्दी जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । कालीगण्डकी आसपासका म्याग्दीको बेनी, बागलुङको निघारघाट, मालढुङ्गालगायत क्षेत्रमा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । शनिबार बिहानदेखि कालीगण्डकीमा पानीको सतह अघिल्लो दिनको तुलनामा थप बढेको छ ।

मोदी र कालीगण्डकी नदी मिसिने पर्वतको मोदीवेणीमा कालीगण्डकीले चेतावनी तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मोदीवेणीमा चेतावनी तह ७ मिटर रहेकामा पानीको सतह ७.७५ मिटर पुगेको छ । महाशाखाका अनुसार मोदीवेणीमा पानीको सतह अहिले घट्ने क्रममा रहे पनि जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । कालीगण्डकी बहने अन्य स्थानमा पानीको सतह चेतावनी तहभन्दा तल रहे पनि बढ्दो क्रममा रहेको जनाइएको छ ।

बागलुङ, पर्वत र म्याग्दीका प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *