तीव्रखबर
काठमाडौं — रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीको एक महिना बितिसक्दा पनि प्रभावित क्षेत्रमा जनजीवन पूर्णरूपमा सामान्य बन्न सकेको छैन। बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा सडक, पुल, घर, जलविद्युत् आयोजना तथा व्यापारिक संरचनामा ठूलो क्षति पुगेपछि उद्धारपछिको पुनःस्थापना र पुनर्निर्माणको काम अझै चुनौतीपूर्ण बनेको छ।
सरकारको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्याङ्कनअनुसार बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति तथा आर्थिक नोक्सानी भएको अनुमान छ। पुनःस्थापना र पुनर्निर्माणका लागि भने ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ।
एक महिनाको अवधिमा केही सडक तथा पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइए पनि रसुवाको उत्तरी क्षेत्रमा यातायात अझै सहज हुन सकेको छैन। बाढीबाट घर गुमाएका वा बस्न अयोग्य भएका परिवारमध्ये कतिपय अझै अस्थायी टेन्ट र आश्रयस्थलमा बसिरहेका छन्। स्थायी आवास, सडक तथा पुल पुनर्निर्माण र विस्थापित बस्तीको दीर्घकालीन व्यवस्थापन अबको मुख्य चुनौती बनेको छ।
प्रतिक्रिया