October 23, 2026, 9:13 pm
» सडकबाट स्कुटर खस्दा चालकको मृत्यु » राष्ट्र बैंकले बन्द गर्‍यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा » आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी » द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य » रवि लामिछाने पत्नी निकितासहित भारत प्रस्थान

विदेशी सहयोगको नाममा वर्षौंदेखि ‘डलर खेती’ ? खनाल परिवारमाथि प्रश्नैप्रश्न !

भदौ ४, २०८३ मा प्रकाशित | १०३०४ दर्शक तीव्रखबर

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-१, रुप्सेटारमा ‘विजेता इको कम्युनिटी’ नामक संस्था सञ्चालन गर्दै आएको एक परिवारमाथि विदेशी नागरिक तथा विभिन्न देशबाट सहयोग जुटाएर लामो समयदेखि संस्थाका नाममा आर्थिक गतिविधि सञ्चालन गरेको आरोप लागेको छ।

बद्री खनाल र उनका सहोदर भाइ विनोद खनालले उक्त संस्था सञ्चालन गर्दै आएको स्थानीयको भनाइ छ। विनोद युरोपका विभिन्न मुलुकमा रहेर विदेशी नागरिकलाई नेपाल ल्याउने तथा संस्थाका लागि सहयोग जुटाउने काममा संलग्न रहेको र बद्रीले काठमाडौँमा बसेर संस्थाको गतिविधि हेर्ने गरेको आरोप स्थानीयले लगाएका छन्।

तीव्रखबरसँगको प्रतिक्रियामा संस्थाका अध्यक्ष बद्री खनालले विदेशमा रहेका आफ्ना भाइले विदेशी नागरिकलाई नेपाल पठाउने र उनीहरूबाट सहयोग जुटाउने गरेको स्वीकार गरे। तर, संस्थाले ‘डलर खेती’ गरेको भन्ने आरोप भने उनले अस्वीकार गरे। उनका अनुसार आफूविरुद्ध ‘भन्नेले जे पनि भन्छन्’ नेपालको अवस्था नै यहि छ।

विजेता इको कम्युनिटीमा विगतमा बालबालिकालाई पढाउँदै आएकी एक शिक्षिकाले नाम नछाप्ने सर्तमा विदेशी नागरिक नेपाल आउँदा स्थानीय बालबालिकालाई जम्मा पारेर उनीहरूलाई देखाउने गरिएको दाबी गरिन्। उनका अनुसार बद्री खनालको घरमा ‘होमस्टे’का नाममा वर्षभरि नै विदेशी पाहुनाको आवतजावत हुने गरेको थियो। पछिल्लो समय रुप्सेटारमा नै होमस्टेको नाममा भवन निर्माण समेत गरेको बताइएको छ ।

स्थानीयका अनुसार खनाल परिवारले विगतमा जग्गा कारोबारमा समेत संलग्नता जनाउँदै आएको थियो। बद्री खनालले गौशालास्थित ‘शान्ति सेवा गृह’ नामक संस्थाका लागि रुप्सेटारमा जग्गा खरिद गराउन भूमिका खेलेको र पछि उक्त संस्थाको उपाध्यक्ष बनेको बताइएको छ।

शान्ति सेवा गृहका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बद्री खनाललाई संस्थाबाट हटाइएको दाबी गरे। यद्यपि, संस्थाबाट हटाइनुको कारण र त्यससँग जोडिएका आरोपबारे सम्बन्धित कागजात तथा अन्य प्रमाण प्राप्त हुन बाँकी छ। तथापि, खनालले भने आफूले जग्गा व्यवसाय गरेको स्वीकार गरेका छन्।

स्थानीयको भनाइअनुसार शान्ति सेवा गृहबाट अलग भएपछि विदेशमा रहेका उनका भाइ विनोदको सहयोगमा विजेता इको कम्युनिटी स्थापना गरिएको थियो। संस्थाले स्थानीयलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने आश्वासन दिएको भए पनि अपेक्षाअनुसार काम नभएको एक स्थानीय वृद्धको आरोप छ।

उनका अनुसार केही वर्षअघि स्थानीयका छोरी-बुहारीलाई समेत संस्थामा आबद्ध गराएर रोजगारी सिर्जना गर्ने बताइएको थियो। तर, लामो समय बितिसक्दा पनि त्यसअनुसार काम नभएको उनको दाबी छ।

यी आरोप तथा दाबीहरूको स्वतन्त्र पुष्टि, संस्थाको आर्थिक स्रोत, विदेशी सहयोगको विवरण, विदेशी नागरिकसँगको सम्बन्ध, संस्थाको दर्ता तथा लेखापरीक्षणसम्बन्धी कागजात र सहयोग रकमको उपयोगबारे तीव्रखबरले थप अनुसन्धान गरिरहेको छ।

विजेता इको कम्युनिटीले प्राप्त गरेको विदेशी सहयोग, खर्च विवरण र संस्थाको आर्थिक पारदर्शिताबारे थप प्रमाण तथा सम्बन्धित निकायका कागजात प्राप्त भएपछि तीव्रखबरले फलोअप समाचार प्रकाशित गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *