November 22, 2026, 3:04 pm
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

गर्मी बढेसँगै सर्पको त्रास, मधेसमा एन्टी स्नेक भेनमको आपूर्ति

साउन २९, २०८३ मा प्रकाशित | ८१०४ दर्शक तीव्रखबर

जनकपुरधाम । गर्मी बढेसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि प्रदेशका सर्पदंश उपचार केन्द्रमा एन्टी स्नेक भेनम पठाउन थालिएको छ।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रदेशमा सर्पदंशको उपचार हुने २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार एन्टी स्नेक भेनम उपलब्ध गराउन थालिएको हो।

सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको डा. यादवले जानकारी दिनुभयो। अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि पठाउने काम भइरहेको उहाँले बताउनुभयो।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको र थप औषधि आउने प्रक्रियामा रहेको डा. यादवले जानकारी दिनुभयो। उहाँका अनुसार कुनै पनि उपचार केन्द्रमा औषधिको अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको छ।

पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशका घटना बढेको पाइएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। ग्रामीण क्षेत्रमा खेतबारी तथा घरवरपर सर्पको गतिविधि बढेसँगै सर्पदंशको जोखिमसमेत बढेको उहाँले बताउनुभयो।

केही दिनअघि एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ।

डा. सिंहले सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घरवरपरका झाडी सफा राख्न तथा खेतबारीमा काम गर्दा बुट र अन्य सुरक्षात्मक सामग्री प्रयोग गर्न आग्रह गर्नुभएको छ। सर्पले टोकेमा झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न उहाँले सुझाव दिनुभयो।

मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन तथा गर्मीयाममा देखिने प्रमुख सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा आवश्यक औषधि, स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *