November 22, 2026, 3:06 pm
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

साउन २८, २०८३ मा प्रकाशित | ६८०४ दर्शक तीव्रखबर

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक अपराह्न ५ बजेका लागि बोलाइएको सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिए ।

यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने बताइएको छ । सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उनले विश्वासको मत दिन लागेका हुन् ।

बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन् । तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८, नेपाली कम्युनिष्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन् । हाल एक जना देश बाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *