तीव्रखबर
– समिप
नारिरहेथें गोरु, जोतिरहेंथें हलो
एक्कासी हलो बेचें गोरु बेचें
अनि नेता भएँ ।
बोकि लामा लामा बुम-
अन्तर्वार्ता लिंदै थिएँ
बेचिदिएँ घोचो
अनि नेता भएँ ।
गर्दा गर्दै विरामीको अप्रेशन
एक्कासी देश विरामी भएको ठानें
बेचिदिएँ स्टेथेस्कोप,बेचिदिएँ कैची
अनि नेता भएँ ।
कोरि रहेथे नक्सा,
बाटोको,भवनको,पुलको,नहरको
बेचिदिएँ एकएक सबै
अनि नेता भएँ।
नेता बन्न मैले
कालो कोट फुकाले
सेतोकोट फुकालें
पहेलो टोपी फुकालें,
गैटी, बेल्चा फालें
पसल बेचें
गीत गाउँदा गाउँदैको
स्टुडियो बेचें
लुगा सिलाउने कल बेचें
खेल्दा खेल्दैको फुटबल बेचें
अनि औजार बनाउने आरन बेचें
सब थोक बेचें
अनि नेता भएँ ।
मेरो दर्शन फेसबुक थियो
एक्स र ईन्टाग्राम मार्गनिर्देशक सिद्धान्त
मेरो एक पोष्टमा १० मिनेटमै
१० हजार लाईक आउछ भने
‘१० वर्षमा १० हजार मेघावाट’
किन सम्भव छैन ?
नेताले देश बिगारे भनेको मेरो स्टाटसमा
३० मिनेटमा ३ हजार कमेन्ट आउँछ
‘नो नट अगेन’
अनि त म भन्छु-
समृद्धि किन संभव छैन?
पुराना दललाई गाली गरें
अनि नेता भएँ ।
सजिलै नेता हुन पाउँने जमानामा
किन बस्नु पर्यो वर्षौं जेल ?
किन खानु टाउकोमा लाठी ?
किन बस्नु अनसन ?
किन भोग्नु यातना ?
कुनै सकस विना नै
झोले नेताहरुले लोकतन्त्र
अनि गणतन्त्र ल्याई दिएकै छन्
तिनैलाई सरापें
तिनैलाई धिक्कारें
अनि नेता भएँ ।
पुरानो नेपाल चाईदैन
सबै जलाउँ, सबै भत्काउँ
साथी हो,
एउटा पोष्ट गरेको छु
मेरो निर्देशन मान
सकेको ढुङ्गा हान
आगो बाल
ध्वस्त बनाउ पुरानाहरु,
इतिहासहरु
समृद्ध नेपाल निर्माण गर्न
पुराना धरोहरहरु सबै जलाउँ ।
सुकुम्वासी मुक्त देश बनाउँन
तिनका टहरा फोडौं,
सडकका पसलेका पसल तोडौं,
सकिन्छ भने
सबैका मन तोडौं,
साथी हो नयाँ क्रान्तिको विगुल फुकौं,
यस्त़ै यस्तै भन्दै गएँ
अनि नेता भएँ ।
जनताका आँत जलाई
त्यसैको भुङ्ग्रोमा हत्केलो सेकेको छु
प्रिय जनताहरु
यसपाली म निर्वाचनमा उठेको छु
आफ्नो एक भोट दिएर
मलाई जिताईदिनु होला !!
प्रतिक्रिया