तीव्रखबर
काठमाडौँ। नेपाल भ्रमणमा आउनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीको भ्रमण विशेषतः प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा केन्द्रित रहेको बुझिएको छ । उहाँ मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर नेपाल आउनुभएको थियो । र, सन्देश विशेषतः प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका सम्बन्धमा थियो ।
नेपाल भ्रमणका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको थियो ।
सो भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीको सन्देश प्रधानमन्त्री शाहलाई सुनाउनु भएको थियो । प्रधानमन्त्री कार्यालयले जनाएअनुसार उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल र फलदायी बनाउन भारत सरकारका तर्फबाट उच्च गृहकार्य भइरहेको जानकारी त्यस अवसरमा गराउनुभएको थियो । सो अवसरमा उहाँले यसअघि भारतका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि गर्नुभएको आमन्त्रणको स्मरण गराउँदै भारतले प्रधानमन्त्री शाहको भ्रमणको तयारी गरिरहेको जानकारी त्यस अवसरमा दिनुभएको थियो ।
गएको चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई प्रधानमन्त्री मोदीले बधाई दिँदै भारत भ्रमणका लागि आमन्त्रण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले आफू नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागतका लागि आतुर रहेको कुरा सामाजिक सञ्जालमा पनि लेख्नुभएको थियो ।
हिजोको भेटका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई भारत सरकारले उच्च महत्व दिएको पनि बताउनुभएको थियो । हिजोको औपचारिक भेटमा प्रधानमन्त्री शाहले नेपालमा गत भदौ १० गते गएको विनाशकारी भोटेकोशी–त्रिशूली हिमबाढीपछि निम्तिएको विपतमा भारत सरकारले सहयोगका लागि हात बढाउँदै पहिलो साथ एवं सहयोगसहित नेपालप्रति जनाएको ऐक्यबद्धताको सराहना गर्नुभएको थियो । त्यस आपतका समयमा राहत सामग्रीका साथै उद्धार टोली खटाएर भारतले गरेको सहयोगप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाह आउँदो मङ्सिर दोस्रो साता औपचारिक भ्रमणमा भारत जानुहुने भएको छ । यद्यपि, भ्रमणको मिति भने मिश्री भारत पुगेपछि निश्चित हुनेछ र नेपाल सरकारलाई भारतले जानकारी गराउने छ । भारतका तर्फबाट मङ्सिर दोस्रो साताको भ्रमणका लागि अहिले समय निकाल्न भनेको र सोही बमोजिम सम्भवतः मङ्सिर ९ गतेदेखि सो भ्रमण हुने स्रोतको भनाई छ ।
नयाँ सरकार बनेपछि भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहको छिमेकी मुलुकमा हुन लागेको यो पहिलो भ्रमण हो । यसअघि सरकारका तर्फबाट पहिलो औपचारिक भ्रमणका रूपमा प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जानुभएको थियो । त्यो कार्यक्रम भ्रमण भएकाले यो नै प्रधानमन्त्री शाहको पहिलो औपचारिक एवं राजकीय भ्रमण हुने जनाइएको छ ।
भ्रमण फरक बनाउने पक्षमा प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन्द्र शाह नेपालका प्रधानमन्त्रीहरुको यसअघि हुने गरेको भारतको भ्रमण भन्दा फरक बनाउने पक्षमा रहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।
स्रोतका अनुसार यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा निकै ठूलो संख्यामा सरकारी अधिकारी, पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको लावा लस्कर लाग्ने गरेको थियो । त्यस्तो औपचारिक र खर्चिलो बनाउने पक्षमा प्रधानमन्त्री शाह रहेका छैनन् ।
त्यस्तै यसअघिका भारत भ्रमणहरुमा भ्रमण दलका सदस्यहरुको छनोट परराष्ट्र मन्त्रालयले गर्ने गरेको थियो । तर अहिले भने भ्रमण दलका सदस्यहरुको छनोट नै प्रधानमन्त्री कार्यालयले गर्ने तयारी भएको बताइएको छ ।
साथै एजेण्डाहरुमा पनि प्रधानमन्त्री शाहले नयाँपन दिने भएका छन् । जस्तो कि यसअघि कार्यान्वयनमा नआउने भएपनि कैयौँ योजना, आयोजना आदिमा हस्ताक्षर गर्ने प्रचलन थियो । तर यसपालि भने त्यसो नगरी पहिलेका प्रतिबद्धता एवं प्राथमिकतालाई नै पूरा गर्ने र नयाँ कुनै गर्नुपर्ने भएमा कार्यान्वयनमा आउने खालका अर्थात् पूरा हुने प्रतिबद्धताहरु मात्र हस्ताक्षर गरिने भएको हो ।
प्राथमिकतामा भोटेकोशी बाढी र जनकपुर रेलमार्ग
हिजोको भेटवार्ताका क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहलाई दिनुभएको थियो । बिहीबार नै उक्त मार्गमा रेलको परीक्षण सञ्चालन भएको पनि प्रधानमन्त्री शाहलाई जानकारी दिनुभएको प्रधानमन्त्री कार्यालयले प्रस्ट पारेको छ । आसन्न भारत भ्रमणको तयारीका विषयमा प्रधानमन्त्री शाहले विदेश सचिव मिश्रीसँग थप बिफ्रिङ लिने क्रममा उहाँले सो जानकारी गराउनुभएको थियो ।
साथै भेटमा नेपालमा भारत सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू, विभिन्न क्षेत्रमा भएका भारतको लगानी तथा द्विपक्षीय सहकार्यका क्षेत्रमा भएको प्रगतिका बारेमा पनि प्रधानमन्त्री शाहले जानकारी लिनुभएको थियो । त्यस्तै भ्रमणका क्रममा हुने सम्भावित अन्य योजनाका बारेमा पनि उहाँहरूबीच धारणा आदानप्रदान भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहले यस भ्रमणका क्रममा प्राथमिकतामा राख्नुभएको एजेण्डा भोटेकोशी बाढीको क्षति र संरचनाको पुनर्निमर्माणमा पनि रहेको छ । उहाँले भारतसँग उक्त बाढीले क्षति पुर्याएका संरचना एवं वस्तीहरुको निर्माणका लागि सहयोग माग्ने एजेण्डा रहेको छ । त्यसमा नेपालले भारतसँग ठूलै रकमको अपेक्षा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया