तीव्रखबर
काठमाडौं । सस्तो मूल्यमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्दै आएका गिरोहका नाइके पक्राउ परेका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डलर देखाएर लुटपाटमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका २८ वर्षीय सुजन तामाङ पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई कात्तिक १९ गते साँझ करिब ६ः४५ बजे गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित सडकबाट नियन्त्रणमा लिन खोजेको थियो। सो क्रममा तामाङले प्रहरीमाथि नै चक्कु प्रहार गर्दा एक प्रहरी घाइते भएका थिए।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिन सुरुमा चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नियन्त्रणमा नआएपछि घुँडामुनि लक्षित गरी एक राउण्ड गोली प्रहार गरिएको थियो। गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ।
१६ लाख रुपैयाँ ठगी तथा लुटपाट
प्रहरीका अनुसार तामाङले पछिल्लो पटक कात्तिक २३ गते गोकर्णेश्वर नगरपालिका–१२ लसुनटारमा दुई जनालाई बोलाएर जनही ८ लाख रुपैयाँका दरले कुल १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरेका थिए।
उनले विभिन्न व्यक्तिलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो मूल्यमा साटिदिने भन्दै प्रलोभनमा पारेका थिए। विश्वास दिलाउन सुरुमा ५० अमेरिकी डलरको नोटसमेत साट्न दिएका थिए। त्यसपछि रकम साट्ने बहानामा एकान्त स्थानमा बोलाएर रकम लुटी जंगलतर्फ फरार भएको प्रहरीको विवरणमा उल्लेख छ।
आठ पटकसम्म प्रहरी कारबाहीमा परिसकेका व्यक्ति
प्रहरीको अभिलेखअनुसार तामाङ यसअघि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको आरोपमा आठ पटकसम्म कानुनी कारबाहीमा परिसकेका व्यक्ति हुन्। उनीविरुद्ध स्वयम्भू, भक्तपुर, बाह्रबिसे, महाराजगञ्ज, बौद्ध र सातदोबाटोलगायतका प्रहरी कार्यालयमा ठगीसम्बन्धी मुद्दाको अभिलेख रहेको छ।
पछिल्लो समय स्वयम्भू, बुढानीलकण्ठ र साँखु क्षेत्रमा समेत सुन देखाएर रकम लुटपाट गरेको घटनामा उनको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसरी बनाउँथे ठगीको जालो
प्रहरीका अनुसार तामाङको समूहले गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलका सञ्चालकलाई लक्षित गर्ने गरेको थियो। पसलमा राखिएका होर्डिङ बोर्डमा उल्लेखित फोन नम्बर संकलन गरी सञ्चालकलाई फोन गर्ने र चिनजान भएजस्तो गरी कुराकानी गर्दै आफ्नो दुःख सुनाउने गर्थे।
त्यसपछि सस्तो मूल्यमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर विश्वासमा पार्ने गरिएको थियो। समूहका एक सदस्यले लाटोको भूमिका निर्वाह गरी विश्वास दिलाउने र सुरुमा सक्कली डलर दिएर पीडितलाई विश्वस्त बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
डलर साट्ने बहानामा एकान्त तथा जंगल क्षेत्रमा बोलाएर रुमालमा पोको पारेको डलर देखाउने गरिन्थ्यो। पोकोको माथि र तल ५, १० र ५० दरका अमेरिकी डलर राखेर बीचमा नेपाली रुपैयाँको आकारमा काटिएको सेतो कागज वा २० रुपैयाँका नोट राख्ने र सोही पोको दिएर रकम लुट्ने गरेको प्रहरीको विवरणमा उल्लेख छ।
मोटरसाइकलको नम्बर प्लेट र मोबाइलसमेत फेर्ने
ठगी तथा लुटपाटपछि समूहले मोटरसाइकलको नम्बर प्लेट र आफ्नो हुलिया परिवर्तन गर्ने गरेको प्रहरीले जनाएको छ। एकपटक प्रयोग गरेका मोबाइल तथा सिमकार्ड पुनः प्रयोग नगर्ने र चोरीका सिमकार्ड तथा मोबाइल सेट प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ।
विशेषगरी सीसीटीभीको पहुँच नभएका नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभीर, शिवपुरी र नागार्जुनलगायतका स्थानलाई समूहले आफ्नो निशाना बनाउने गरेको प्रहरीको भनाइ छ।
मोटरसाइकलदेखि नक्कली सुनसम्म बरामद
प्रहरीले तामाङसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा ठगीमा प्रयोग गरिएका मोटरसाइकल तथा नक्कली नम्बर प्लेट, २० रुपैयाँका नोटका चार बन्डल, अमेरिकी डलरजस्तै आकारमा काटिएका सेता कागजका बन्डल, कागजको बन्डलको माथि र तल राखिएका ५ डलरका नोट, एक किलो नक्कली सुनको ढिक्का तथा विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जनाएको छ।
यस गिरोहमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको आशंकामा प्रहरीले खोजतलास र थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया