November 19, 2026, 11:42 am
» २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते » दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते » नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार » मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

हाडीगाउँमा ‘भेहिकल फ्री डे’ : सांस्कृतिक पुनर्जागरणसहित स्थानीय उत्पादनको व्यापार !

फाल्गुन २२, २०८१ मा प्रकाशित | ३४४०४ दर्शक तीव्रखबर

– शिवकुमार फुयल

काठमाडौंको ऐतिहासिक हाडीगाउँ आफ्नो पुरानो परम्परा र सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्न विशेष अभियान मार्फत अघि बढिरहेको छ । सधैँजसो सवारी साधनको चाँप हुने दथु मार्ग अहिले हरेक शनिबार दुइ बजे पछि सांस्कृतिक केन्द्रको रुपमा परिणत हुन्छ । सडकमा सवारीसाधन आवतजावत बन्द गरेर ‘हाटबजार’कै झल्को दिने सो कार्यले स्थानीय बासिन्दाहरूलाई रोजगारीको अवसर मात्र दिएको छैन् । स्थानीय उत्पादनले व्यापार पाउनुको साथै स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ । योसंगै परम्परागत खाना, संगीत, नाचगान तथा सांस्कृतिक गतिविधिको माध्यमबाट आफ्नो मौलिक पहिचानलाई जिवन्त बनाएको छ ।

“भेहिकल फ्री डे“ को रूपमा सुरू गरिएको यो अभियान अहिले साप्ताहिक महोत्सबमा विकास भएको छ । वालवालिका, युवा, वृद्ध सबैजना सडकमा भेला भएर परम्परागत खाना पकाएर, विक्री गर्दै आनन्द लिने गर्छन् । स्थानीय व्यापारी सरोज प्रजापति, किरण प्रजापति लगायत सयौं जना हरेक शनिबार १ बजेपछि सडकमा पाल टाँग्न व्यस्त हुन्छन् । कसैले चुल्हो मिलाउँछन् कसैले गुन्द्री र चकटी सडक छेउमा ओछ्याउँछन् किरण भन्छन् “हामी घरमै बनाएर बिक्री गर्छौ, भाडा तिर्न पर्दैन“ उनीहरूले ऐला (रक्सी), छोइला, योमरी, चटामरी, बारा, सपुम्हिचा, स्वः कचिला, खग्वा, टिस्य जस्ता नेवारी परिकार बेचेर आम्दानीमात्र गरेका छैनन् यसको माध्यमले परम्परालाई पनि जोगाएका छन् ।

साँस्कृतिक तथा ऐतिहासिक स्थल घुम्न रुचाउने सबिन खनाल र उनका साथीहरूले पनि यो महोत्सवको अनुभव लिएका छन् । उनीहरुलाई सडकमा यस्तो भिड देख्दा अचम्म लाग्यो “यो त फुड फेस्टिभल रहेछ, जहाँ सस्तो, ताजा र स्वादिष्ट परिकार पाइन्छ“ उनले भने यसैगरी, स्थानिय रमा महर्जन र उनका साथीहरू जो नेवारी पोशाकमा सजिएर डबलि चोक नजिकै चुल्होमा बारा पकाउँदै थिए । रमा भन्छिन्, “साथीहरूसँग समय बिताउन र व्यापार गर्न निकै रमाइलो लाग्छ । ग्राहकहरू पनि यो खाना निकै स्वादिलो लागेको बताउँछन् ।“

यस अभियानले हाडीगाउँको सांस्कृतिक पहिचानलाई पुनर्जीवित मात्र गरेको छैन, स्थानीय उत्पादनले बजार पाउनुका साथै स्थानियको राजगारीको अवसरका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ । वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापति भन्छन “हरेक शनिबार यस सडकमा झन्डै २० देखि २५ लाख बराबरको कारोबार हुने गरेको छ ।“

आफ्नो परिवारसँग गुन्द्रिमा बसेर पहिलो चोटि सपुम्हिचाको स्वाद लिईरहेका लाक्पा शेर्पा भन्छन्, “अहिलेको पुस्ता आफ्ना परम्परा बिर्सदैछन् । यो अभियानले परम्परागत संस्कृतिलाई जगेर्ना मात्र होइन, परम्परागत रितिरिवाजलाई बचाउन महत्वपूर्ण भुमिका खेलेको छ । यस्ता गतिविधि देशभर सञ्चालन गर्नुपर्छ, जसले अन्तर्राष्ट्रिय पर्यटनलाई पनि प्रवद्र्धन गर्छ ।“

शहरको व्यस्त जिवनशैलिबाट मुक्त भएर शान्त वातावरणमा समय विताउने अवसर कमै पाईन्छ । आजको पुस्ता प्रविधिमा अल्झेर आफ्नो परम्परा विर्सिँदै गरेको सन्दर्भमा यो महोत्सब एक ऐतिहासिक पुनर्जागरण बन्दै गएको छ । सांस्कृतिक कार्यक्रमहरु पनि महोत्सबको आकर्षण बनेका छन ऐतिहासिक डबली चोकमा शनिबारसाँझ यस्ता कार्यक्रमहरू आयोजना गरिन्छ । नेवारी पहिरन (हाकुपटासी, दौरा सुरुवाल)मा सजिएर नेवारी संगीत, परम्परागत बाजा, नृत्य र लोककला प्रदर्शन गरिन्छ । बढ्दो प्रदूषण, ध्वनि र आधुनिक प्रविधिमा निर्भर जिवनशैलिको प्रभाव कम गर्न स्थानीय स्तरमा कला र संस्कृतिको संरक्षणका लागि यो अभियान २०८० असोज ५ (२०२३ सेप्टेम्बर २२)मा सुरू गरिएको थियो । नरदेःजिवन्त हाँडिगाउँ समितिका अध्यक्ष गोपाल डंगोलले भने “सुरुका दिनहरुमा स्थानियले सडक बन्द गर्दा असहज हुने भन्दै विरोध जनाएका थिए तर, अहिले उनीहरु सडकमा नै व्यापार गर्न पाउँदा खुसि छन् । अभियानको “रमाऔं, कमाऔं, जोगाऔं“ भन्ने नाराले सांस्कृतिक जगेर्ना, आर्थिक सशक्तीकरण र वातावरणीय दिगोपनलाई प्रवद्र्धन गरिरहेको छ ।

वडा अध्यक्ष वीरेन्द्र प्रजापतिका अनुसार हाडीगाउँलाई पूर्ण रूपमा पैदलयात्रा क्षेत्र बनाउन विस्तृत योजना बनिरहेको छ। हाडी गाउँ लिच्छवीकालीन नगर भएकाले यसको सम्पदालाई जगेर्ना गर्न आधुनिक संरचनाहरू हटाइँदै छन् । पञ्चकुमारी मन्दिर, माइतीदेवीस्थान मन्दिर जस्ता ऐतिहासिक स्थलहरू पुनःनिर्माण भइसकेका छन् ।

यस अभियानलाई अझ प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले हाडीगाउँलाई कोर क्षेत्र घोषणा गरेको छ । अब यहाँ परम्परागत वास्तुकलालाई झल्काउने शैलीमा मात्र घर बनाउन पाइनेछ । साथै, ९०% सम्म कर छुट र ८ देखि ३२ लाखसम्म आर्थिक अनुदान प्रदान गरिनेछ । योजना अनुसार, हाडी गाउँको मुख्य चार टोलहरू (कोटाल टोल, दाथु टोल, थातु टोल, न्याल्मा टोल)लाई पैदलयात्रा क्षेत्र बनाइनेछ । हाल परीक्षणका रूपमा दाथु टोलमा सवारी निषेध गरिएको छ । आगामी छ महिनाभित्र चारै टोललाई पूर्ण रूपमा यातायात–मुक्त क्षेत्र घोषणा गर्ने तयारी छ । वैकल्पिक मार्ग, पार्किङ र शौचालयहरूको समेत व्यवस्था गरिँदै छ । यसै अभियानलाई थप व्यवस्थित बनाउन २०८२/८३ को बजेटबाट सडकमा ढुंगाले छाप्ने र परम्परागत संरचना पुनःनिर्माणको योजना राखिएको छ ।

हाडी गाउँको यो सफलता देखेर पाटन, टोखा, भक्तपुर, धनकुटा र धनगढीमा पनि यस्तै उत्सवहरू सुरू भएका छन् । यो अभियान नेपालको समृद्ध संस्कृति जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रेरणादायी मोडल बनेको छ । निकट भविष्यमा “हेरिटेज फुटपाथ“ घोषणा गरिएपछि हाडीगाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि प्रमुख आकर्षण केन्द्र बन्नेछ ।

default

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *