November 29, 2026, 12:02 pm
» कांग्रेसले देशभरका पालिकामा ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » अमेरिकामा ५ रेक्टर स्केलको भूकम्प, ठूला घर हल्लिँदा मानिस त्रसित » कांग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति » पुरुष फुटबलका सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरु जुम्लामा हुने

प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

मंसिर १३, २०८३ मा प्रकाशित | ७०४ दर्शक तीव्रखबर

इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौं / इन्टरपोलको ९४ औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह नेतृत्वको टोली शनिबार चीन प्रस्थान गर्नुभएको छ ।

इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ गते देखि १७ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक शाह सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहसँग महासभामा सहभागी हुन नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, अन्वेषण योजना तथा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्र वन्धु शर्मा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको Commission for the control of INTERPOL’s Files को विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत हुनेछ ।

प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, यूएई र ओमनका प्रतिनिधिहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-१७ ठमेल जिपि रोडस्थित होटलबाट अवैध लागूऔषध कोकिन ३ किलोग्राम सहित कोरियाली नागरिक ८७ वर्षीय Suk Chon Lee लाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उक्त लागूऔषध रिसिभ गरी
लैजान लागेका भारतीय नागरिक २८ वर्षीय Dipak Uttam Waghmare लाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित काठमाडौं कोटेश्वर डेरा गरी बस्ने धादिङ धुनिबेसी नगरपालिका-८ घर भएका २७ वर्षीय रक्की अधिकारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा रक्कीको कोठा तलासी गर्दा अवैध लागूऔषध गाँजा ७ किलो ३ सय २० ग्राम र पोलेन करिब १ सय ग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोरखपुर घर भएका २८ वर्षीय सचिन दुबे, गुल्मी घर भएका २७ वर्षीय रामु सार्की र बागलुङ बरेङ गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्देश सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ४० वर्षीय योगेन्द्र साउद समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, बेलबारी नगरपालिका-३ मिरमिरे टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २९ ट्याब्लेट, स्पास्पेन २ सय २८ ट्याब्लेट र नगद ९ हजार ६ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय विबेक सिलवाल र ३६ वर्षीय सागर शंकर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१० पिपिरा बस्ने २० वर्षीय सलिम बक्सलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०१-००२ ज ०८५९ नम्बरको  ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन १८ ग्राम ४ सय ८० मिलिग्राम, नगद १३ लाख ३९ हजार रूपैयाँ र तराजु १ थान सहित मेचीनगर नगरपालिका-१५ घर भएकी ३६ वर्षीया पार्वता राजवंशीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, रामधुनी नगरपालिका-५ झुम्का बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इनरूवा नगरपालिका-३ बस्ने ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिन्धुली, दुधौली नगरपालिका-१० लभडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम सहित झापा गाउँपालिका-३ घर भएका ३४ वर्षीय यम बहादुर बुढाथोकीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले झापाबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.१-०१-००१ च ८५९८ नम्बरको बोलेरो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक यम बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी निरीक्षक हुँ भन्दै रकम माग गर्ने पाँच जना पक्राउ

काठमाडौं / प्रहरी निरीक्षक हुँ भन्दै रकम माग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने ओखलढु‌ङ्गा मोलुङ गाउँपालिका-२ घर भएका ३४ वर्षीय टेकराज श्रेष्ठ, काठमाडौं कपन बस्ने रामेछाप लिखु गाउँपालिका-१ घर भएका २९ वर्षीय इन्द्र बहादुर भुजेल, काठमाडौं हात्तीडाँडा बस्ने पाल्पा तानसेन नगरपालिका-६ घर भएका ३३ वर्षीय धिरज रानाभाट, भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका २५ वर्षीय खेल बहादुर मगर र काभ्रे बनेपा बस्ने सिन्धुली मरिण गाउँपालिका-२ घर भएका ३० वर्षीय हर्क सिंह भोलन रहेका छन् ।

आफूलाई प्रहरी निरीक्षक बताउँदै पीडितका दाजुलाई छुटाइदिने भन्दै नगद २ लाख रूपैयाँ व्यवस्था गरेमा मुद्दा नचलाई छुटाइदिने र होटलको खर्च तिर्न लगाएकोमा उक्त रकम तिर्न इन्कार गर्दा पीडितलाई फोन तथा म्यासेजमा विभिन्न किसिमका धम्की दिई मानसिक र आर्थिक तनाव दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका-९ वीरेन्द्र चोकबाट पक्राउ गरेको हो ।

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

उदयपुर / त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने ५२ वर्षीय लिल बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा लिल बहादुर समेत १० जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ९० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान बागचौर नगरपालिका-३ घर भएका ४२ वर्षीय ज्ञान बहादुर डिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ज्ञान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।

इलाम, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-२ बस्ने २० वर्षीय सन्तोष कुमार रोहिका मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सन्तोष कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्‍धान गरिरहेको छ ।

करिब २ सय ३७ किलोग्राम गाँजा बरामद

बारा / जीतपुरसिमरा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ३७ किलो १ सय ७० ग्राम शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमरा समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ अम्लेखगंजबाट पथलैयातर्फ आउँदै गरेको बा.१७ च २६३६ नम्बरको गाडी छाडी चालक फरार भएपश्चात प्रहरीले गाडी तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको   हो ।

प्रहरीले हाल फरार गाडी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सुर्खेत, भेरीगंगा नगरपालिका-१२ झिङेनारास्थित सडकमा छिन्चुबाट सुर्खेत बजारतर्फ जाँदै गरेको भे.९ प ४०२१ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा चालक वीरेन्द्रनगर नगरपालिका-२ बस्ने ५० वर्षीय कविलाल सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ गुँरास चोकस्थित सडकमा प्र.१-०२-००६२ प ६२३० नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-६ पानवारी बस्ने २६ वर्षीय क्षितिज नेपालको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-१ स्थित सडकमा रोकी राखेको बा.प्र.०१-०३० च १०९७ नम्बरको बोलेरोलाई बा.प्र.०६-००१ ख ०४५० नम्बरको ट्रकले गए राति ठक्कर दिँदा बोलेरो चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ सामरी बस्ने ३० वर्षीय अमर देउलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा रोकी राखेको ना.६ ख ४७३३ नम्बरको ट्रकमा ग.२३ प ७७८६ नम्बरको मोटरसाइकल गए राति ठक्कर खाँदा मोटरसाइकल चालक लमजुङ दोर्दी गाउँपालिका-२ बस्ने ५२ वर्षीय सोम बहादुर गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

मोरङ / विराटनगर महानगरपालिका-१६ दरैया हनुमान मन्दिर छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ सखुवापुल बस्ने कृष्ण राय यादवले सोही ठाउँमा संचालन गरेको कवाडी सामानहरू राख्ने गोदाममा शनिबार राति आगलागी हुँदा करिब ७० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, सुनवर्षी नगरपालिका-७ कुरौली मुस्लिम टोल बस्ने २२ वर्षीय हलिम मिया, ४० वर्षीय उमर फरूक मिया र ३० वर्षीय कईम आलम मियाको घरमा विद्युत सर्ट भई शनिबार बेलुकी आगलागी हुँदा तीनै जनाको गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, इटहरी उपमहानगरपालिका-६ स्थित लेखनाथ निरौलाको घरको दोस्रो तलामा मोरङ सुन्दरहरैंचा नगरपालिका-८ बस्ने नबिन गुप्ताले संचालन गरेको कोशी डेण्टलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडस्थित ओमप्रकाश पाण्डेले संचालन गरेको होटल ल्याण्डमार्कमा शनिबार साँझ आगलागी हुँदा करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *