November 27, 2026, 11:21 am
» २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते » भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : महासचिव पोखरेल » पूर्वमुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो » स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ » घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

जनताको भरोसा बढ्ने गरी काम गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

मंसिर ११, २०८३ मा प्रकाशित | १८०४ दर्शक तीव्रखबर

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नागरिकमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्दै जनताको भरोसा अभिवृद्धि हुने गरी काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै उनले छिटोछरितो र नागरिकप्रति उत्तरदायी सेवा दिन निर्देशन दिएका हुन् ।

केसीले आफ्नो कार्यक्षेत्रका सम्भावित सुरक्षा चुनौती पहिचान र विश्लेषण गरी आवश्यक सुरक्षा योजना तथा रणनीतिसहित प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न पनि उनले निर्देशन दिएका छन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसङ्ख्यकप्रति संवेदनशील हुँदै पीडितका गुनासा उचित रूपमा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन् । प्रहरी कार्यालयबाट दिइने सेवा सहज र सरल बनाउन तथा आधारभूत तहका प्रहरी कर्मचारीका गुनासालाई प्राथमिकताका साथ समाधान गर्न पनि उनले निर्देशन दिएका छन् ।

त्यस्तै, भिड नियन्त्रण गर्दा बल प्रयोगको सिद्धान्त पालना गर्न, कार्यालय व्यवस्थापन सुधार गर्न र शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि स्थानीय तह एवं सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्न केसीले आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *