तीव्रखबर
काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्बासी परिवारलाई आश्रयस्थलबाट हटाउने निर्णय स्थगित गर्न सरकारसँग आग्रह गरेका छन् ।
भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई उक्त स्थान खाली गर्न निर्देशन दिइएकोप्रति घिसिङले आपत्ति जनाएका हुन् ।
काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका परिवारलाई जाडोको मौसममा फेरि सुरक्षित आवासको सुनिश्चितताबिना हटाउनु उचित नहुने उनको भनाइ छ ।
घिसिङले विशेषगरी आश्रयस्थलमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।
भूमिहीन तथा सुकुम्बासी समस्याको समाधान विस्थापन मात्र नभई उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको उनले उल्लेख गरेका छन् ।
वैकल्पिक आवासको व्यवस्था नहुँदासम्म आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न, प्रभावित परिवारका आधारभूत आवश्यकताको सुनिश्चितता गर्न र दीर्घकालीन तथा न्यायपूर्ण समाधान खोज्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया