तीव्रखबर
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीलाई थप बलियो बनाउन अपिल गरेका छन् ।
निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट निर्माण भएको साझा घर भएको बताएका छन् ।
उनले विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।
‘हामीले बनाएको प्रजातान्त्रिक घरभित्र जनताको चाहनामा जो कोही प्रधानमन्त्री हुन सक्छ भने कार्यकर्ताको चाहनामा पार्टी सभापति पनि जो कोही हुन सक्छ। विमति किन ?’ भण्डारीले प्रश्न गरेका छन् ।
इतिहासको विरासत जोगाउँदै वर्तमानको जिम्मेवारी पूरा गर्न र भविष्यका पुस्ताका लागि सक्षम पार्टी निर्माण गर्न उनले आग्रह गरेका छन् ।
‘व्यक्ति होइन, विचार ठूलो; गुट होइन, पार्टी ठूलो; स्वार्थ होइन, लोकतन्त्र र राष्ट्रहित ठूलो’ भन्दै भण्डारीले सबैलाई साझा संकल्पसहित पार्टीमा सहभागी हुन अपिल गरेका छन् ।
प्रतिक्रिया