November 27, 2026, 10:44 am
» २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते » भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : महासचिव पोखरेल » पूर्वमुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो » स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ » घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

वीरगञ्जको क्यासिनोमा छापा : नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ

मंसिर ११, २०८३ मा प्रकाशित | २४०४ दर्शक तीव्रखबर

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका-१० लोहारपट्टी चोकस्थित ‘फर्च्युन सिटी गेमिङ क्लब प्रालि’ (क्यासिनो) भित्र अवैध रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति उक्त क्यासिनोमा नेपालीहरूलाई प्रवेश गराएर जुवा खेलाइरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो।

छापा मार्ने क्रममा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई रङ्गेहात नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जुवा खेल्ने कार्यमा संलग्न ९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह रहेका छन्।

त्यस्तै, पर्साको पर्सागढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिण गाउँपालिकाका २७ वर्षीय विनोद कुमार र काठमाडौँको शङ्खरापुर (साँखु) नगरपालिकाका ४० वर्षीय राजेश श्रेष्ठलाई पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी, प्रचलित कानुनविपरीत नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न ३ जना सञ्चालक/कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलक प्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपक राज पराजुली रहेका छन्।

पक्राउ परेका सबैमाथि आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *