November 27, 2026, 10:42 am
» २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते » भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : महासचिव पोखरेल » पूर्वमुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो » स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ » घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ नेपाली र ६२३ विदेशीलाई मृत घोषणा गर्न सिफारिस

मंसिर ११, २०८३ मा प्रकाशित | ११०४ दर्शक तीव्रखबर

काठमाडौं । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ नेपाली र ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले यस्तो सिफारिस गरेको हो । ४८ जिल्लाबाट प्राप्त विवरण र सातवटा विदेशी नियोगबाट प्रमाणित भएर आएका विवरणका आधारमा बेपत्ताहरूलाई मृत घोषणा गर्न सिफारिस गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ ।

यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तह र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको सिफारिसका आधारमा तथा विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकका नेपालस्थित नियोगबाट प्राप्त विवरणका आधारमा दुई चरणमा सातदिने सूचना जारी गरी दाबी पेस गर्न आह्वान गरिएको थियो ।

त्यस्तै, बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ स्वीकृत गरेको छ । यसमार्फत २०८७ सालसम्म नेपालका सबै समुदायमा विपद्को पूर्वसूचना पुर्‍याउने लक्ष्य राखिएको र बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनलाई मार्गचित्रमा प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ ।

बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरेको छ । यसैगरी वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *