तीव्रखबर
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिँदै अमेरिका भित्रिने विदेशी वस्तुहरूमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।
यो नयाँ कर नीतिबाट अमेरिकाका ठूला व्यापारिक साझेदारहरू- चीन, युरोपेली संघ (ईयू) का साथै जापान, दक्षिण कोरिया, ताइवान, भारतसहित १४ वटा देश तथा क्षेत्रहरू प्रभावित हुनेछन् ।
प्रस्तावित नयाँ शुल्कअनुसार चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म र भियतनाममाथि ३५ प्रतिशतसम्म भन्सार शुल्क लाग्नेछ। यस्तै, अन्य देशहरूले २० वा २५ प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ।
यस सूचीमा चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारत समावेश छन् । यद्यपि, राष्ट्रपति ट्रम्पले यसअघि सहमति जनाएका केही सीमाहरूका कारण कतिपय देशका लागि यो दर व्यवहारमा केही कम हुन सक्ने बताइएको छ ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई अवैध ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि अन्य देशका व्यापारिक अभ्यासहरूमाथि अनुसन्धान थालेको थियो ।
अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) ले ती देशहरूको व्यापार नीतिले अमेरिकी वाणिज्य क्षेत्रमा पारेको भनिएको प्रभावसम्बन्धी विस्तृत प्रतिवेदनसहित यो प्रस्ताव सार्वजनिक गरेको हो ।
यूएसटीआरका जेमिसन ग्रिरका अनुसार, नयाँ शुल्कले अमेरिकी कामदारहरूका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई दिगो बाटोमा लैजानेछ। उनले दशकौँदेखि अमेरिकाका व्यापारिक साझेदारहरूले उत्पादन क्षेत्रलाई लक्षित गर्ने, ज्याला दबाउने र बजारलाई विकृत पार्ने नीति अपनाएर अमेरिकाको उत्पादन आधार कमजोर बनाएको आरोप लगाएका छन् ।
अर्थशास्त्रीहरूले भने भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने र आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले यस्तो नीतिले विश्व व्यापारमा समेत संकुचन ल्याउन सक्ने बताएका छन् ।
आयातित वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा आयातकर्ता व्यवसायीले सरकारलाई तिर्ने यो नयाँ भन्सार शुल्क तत्काल लागू हुनेछैन । सार्वजनिक परामर्श र सम्भावित सुनुवाइका विभिन्न चरणहरू पार गरेपछि आगामी वर्षदेखि मात्र यो कार्यान्वयनमा आउन सक्नेछ ।
प्रतिक्रिया