तीव्रखबर
काठमाडौं। आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी सरकारी लक्ष्यलाई आधार मानेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नयाँ ‘इनर्जी मिक्स’ (ऊर्जा मिश्रण) नीति तयार पार्ने प्रक्रियालाई तिब्रता दिएको छ।
उत्पादनका विभिन्न स्रोतहरूको हिस्सा वैज्ञानिक ढङ्गले निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालिएसँगै लामो समयदेखि ठप्प रहेको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सुचारु हुने बलियो आधार तयार भएको छ।
हाल नेपालको कुल जडित क्षमता करिब ४ हजार २०० मेगावाटको हाराहारीमा रहेको छ। यसको अधिकांश हिस्सा नदी प्रवाही (आरओआर) जलविद्युतबाट मात्रै धानिँदै आएको छ।
वर्षायाममा प्रशस्त उत्पादन हुने तर हिउँदमा उत्पादन उच्च रूपमा घट्ने मौसमी असन्तुलनका कारण ऊर्जा प्रणालीमा परिरहेको चापलाई मध्यनजर गर्दै सरकारले स्रोतहरूको विविधीकरणलाई प्राथमिकता दिएको हो।
यसअघि १५ हजार मेगावाटको लक्ष्यअनुसार तय गरिएको ऊर्जा अनुपातले हालको ३० हजार मेगावाटको बृहत लक्ष्यलाई सम्बोधन गर्न नसक्ने ठहर गर्दै मन्त्रालयले यो नयाँ गृहकार्य अघि बढाएको हो।
गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागु भएपछि निजी क्षेत्रका धेरै आयोजनाहरूको पीपीए प्रक्रिया अवरुद्ध बन्दै आएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल विभिन्न क्षमताका करिब २८१ वटा आयोजनाका १६ हजार मेगावाटभन्दा बढी क्षमता पीपीएको प्रतीक्षामा थन्किएका छन्।
बैंक तथा वित्तीय संस्थाहरूले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने हुनाले पीपीए रोकिँदा आयोजनाहरूको वित्तीय व्यवस्थापन ठप्प भएको छ र समग्र ऊर्जा क्षेत्र नै प्रभावित बनेको छ।
नयाँ ऊर्जा मिश्रणको यस ढाँचामा जलविद्युतका विभिन्न प्रकार (नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त र पम्प स्टोरेज) का साथै सौर्य (सोलार), वायु (विन्ड) तथा अन्य वैकल्पिक ऊर्जा स्रोतहरूलाई समेत निश्चित प्रतिशत भाग छुट्याउने तयारी गरिएको छ।
विशेषगरी हिउँदको माग धान्न र ऊर्जा भण्डारण गर्न जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाहरूले ठूलो भूमिका खेल्नेछन् भने सौर्य र वायु ऊर्जाले समयगत विविधता कायम गर्न सघाउनेछन्।
नयाँ नीतिले अन्तिम रूप पाएपछि प्राधिकरणलाई रोकिएका पीपीए खुलाउन औपचारिक बाटो खुल्नेछ। यद्यपि, ३० हजार मेगावाटको यो विशाल लक्ष्य हासिल गर्न उत्पादन क्षमता मात्र बढाएर नपुग्ने विज्ञहरूको औंल्याइ छ।
यसका लागि आन्तरिक खपतमा व्यापक बृद्धि गर्ने, देशैभर बलियो प्रसारण पूर्वाधारको जालो फैलाउने र भारत तथा बंगलादेशलगायतका अन्तरदेशीय बजारमा विद्युत् निर्यातको दायरालाई सोही अनुपातमा बिस्तार गर्नुपर्ने प्रमुख चुनौती सरकारसामु विद्यमान छ।
प्रतिक्रिया