November 20, 2026, 9:06 am
» मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? » निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली » इरानमाथि सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउँदै नेतान्याहु » जुवातास खेलिरहेका २५ जना पक्राउ » भोटेकोशी बाढीपीडितलाई दुई लाख राहत

इरानमाथि सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउँदै नेतान्याहु

मंसिर ४, २०८३ मा प्रकाशित | ३००४ दर्शक तीव्रखबर

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताउँदै त्यसका लागि अमेरिकी समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्  ।

इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच इरानमाथि आक्रमण गर्ने साझा योजना तयार भइसकेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णय पर्खिरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

‘द टाइम्स अफ इजरायल’का अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही सञ्चालन गर्न अमेरिकाको समर्थन जुटाउने प्रयास गरिरहेका छन् । यद्यपि, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वमा संलग्न हुन नेतान्याहुले गरिरहेको पहलप्रति शङ्का व्यक्त गरेका छन् ।

आगामी अक्टोबर २७ मा हुने निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाउने सम्भावनाका कारण नेतान्याहुले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न इरानविरुद्ध सैन्य कारबाहीको प्रस्ताव अघि सारेको हुन सक्ने अमेरिकी अधिकारीहरूको आशङ्का छ ।

यसैबीच, चीनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको छलफलमा आणविक हतियारको प्रसार नियन्त्रण र क्षेत्रीय द्वन्द्वका विषयले प्राथमिकता पाएका छन् । छलफलका क्रममा ट्रम्पले तीन आणविक शक्तिराष्ट्रले हतियारको सङ्ख्या घटाउने र आणविक जोखिम न्यूनीकरणका लागि सहकार्य गर्नुपर्ने बताए ।

उनले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी प्रतिबद्धता पनि दोहोर्‍याएका छन् ।

यता, इरानले आफूले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको भन्ने अमेरिकी आरोप अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण गर्नुअघि लगाएका अप्रमाणित आरोपकै शैलीमा अहिले इरानमाथि आरोप लगाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले इरानको आणविक कार्यक्रमलाई लिएर आरोप लगाइरहेको अमेरिकाले अहिले जैविक तथा रासायनिक हतियारको विषय उठाएको भन्दै आपत्ति जनाएका हुन् ।

बाघाईले इराक युद्धअघि सामूहिक विनाशका हतियार रहेको दाबी गरिए पनि त्यसको पुष्टि हुन नसकेको स्मरण गराउँदै इरानमाथिका पछिल्ला आरोपप्रति अन्तर्राष्ट्रिय समुदाय सचेत हुनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *