November 18, 2026, 11:05 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने » इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह » नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार » दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग लिखित जवाफ माग

बंगलादेशमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताको प्रदर्शन

कार्तिक ३०, २०८३ मा प्रकाशित | ४००४ दर्शक तीव्रखबर

काठमाडौँ- बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले प्रहरीका अवरोध तोड्नुका साथै विभिन्न सार्वजनिक संरचना, स्मारक र प्रहरीका सवारीसाधनमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध पारेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ः४५ बजेसम्म गोपालगञ्जका विभिन्न सडकमा प्रदर्शन भएको थियो । जिल्लाका विभिन्न युनियन तथा बस्तीबाट आएका अवामी लिग, युवा लिग र छात्र लिगका कार्यकर्ताले जुलुस निकाल्दै हसिना र पार्टीको समर्थनमा नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरू राष्ट्रिय झण्डाका साथै लाठी, खुकुरी, भाला, बन्चरो र बाँसका हतियार बोकेर सडकमा उत्रिएका थिए । प्रदर्शनमा महिला कार्यकर्ताको पनि उल्लेख्य सहभागिता थियो ।

जुलुस लन्च घाट, वुमेन्स कलेज र शिल्पकला एकेडेमी हुँदै पुरानो लन्च घाट पुल नजिक पुगेको थियो । त्यसपछि प्रदर्शनकारीले बैंकपारास्थित अवामी लिगको जिल्ला कार्यालयमा प्रवेश गरी लामो समयदेखि बन्द रहेको कार्यालय खोलेर उत्सव मनाएका थिए ।

प्रदर्शनका क्रममा लन्च घाटनजिक रहेको जुलाई स्मारकमा तोडफोड गरिएको छ । गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयमा रहेको हादी स्क्वायरको नामपट्टी हटाएर पुनः ‘जय बङ्गला चत्तर’ नाम राखिएको छ । त्यस्तै, गोपालगञ्ज सरकारी कलेजको मुख्य प्रवेशद्वारमा रहेको नामपट्टी हटाएर ‘गभर्मेन्ट बङ्गबन्धु कलेज’ लेखिएको ब्यानर राखिएको छ ।

प्रदर्शनकारीले एउटा सुपरमार्केटको सिसा फुटाउनुका साथै विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीको एउटा बख्तरबन्द गाडीमा चढेर नाराबाजी गरेका उनीहरूले गाडीको पछाडिको ऐना फुटाउनुका साथै रातो रङ पोतेर ‘जय बङ्गला, जय बङ्गबन्धु’ लेखेका थिए । प्रहरी बिटका सिसासमेत फुटाइएको थियो ।

प्रदर्शनलाई ध्यानमा राख्दै गोपालगञ्जमा प्रहरी, सीमा सुरक्षा बल (बीजीबी), विशेष प्रतिक्रिया बटालियन र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी ठूलो सङ्ख्यामा परिचालन गरिएको थियो । विशेषगरी लन्च घाट, बजार क्षेत्र र जिल्ला प्रशासन कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

बंगलादेश सरकारले घटनालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सरकारले स्थिति नियन्त्रणबाहिर जान नदिने तर तत्काल बल प्रयोग गर्दा मानवीय क्षति हुन सक्ने भएकाले संयमता अपनाएको थियो ।

घटनापछि गोपालगञ्जमा बीजीबीका छ प्लाटुन सुरक्षाकर्मी परिचालन गरिएको थियो । पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला भएकाले गोपालगञ्जलाई अवामी लिगको प्रभाव क्षेत्रका रूपमा हेरिन्छ । सन् २०२४ को जुलाईमा भएको जनविद्रोहपछि हसिनाको सरकार ढलेको थियो । उनी सन् २०२४ अगस्टदेखि भारतमा निर्वासनमा बस्दै आएकी छन् ।

अवामी लिगले नोभेम्बर १४ देखि १९ सम्म देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ । नोभेम्बर १७ लाई ‘कालो दिवस’का रूपमा मनाउने र नोभेम्बर १९ मा देशव्यापी बन्दको आह्वान गरेको छ ।

अवामी लिगका संगठन सचिव एसएम कमल हुसेनले हसिना डिसेम्बरमा बंगलादेश फर्किने दाबी गर्दै पार्टीले उनको पुनरागमनका लागि देशव्यापी आन्दोलनको तयारी गरिरहेको बताएका छन् ।

गोपालगञ्ज जिल्ला अवामी लिगका कार्यालय सचिव इलियास हकले हसिनालाई स्वदेश फर्काउन नसक्दासम्म सडक आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *