तीव्रखबर
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा आइतबार ११ दिने चीन भ्रमणमा प्रस्थान गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन जान लागेको उक्त प्रतिनिधिमण्डललाई बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी प्रवक्ता जगदीश खरेलले बिदाइ गरे।
भ्रमणका क्रममा टोलीले चीनका बेइजिङ, हाङचोउ र सिचुवानलगायतका प्रमुख सहरहरूको अवलोकन गर्ने कार्यक्रम छ।
तय भएको कार्यतालिकाअनुसार टोलीले भूकम्पपछिको पुनर्निर्माण, विपद् प्रतिकार्य व्यवस्थापन, सुशासन, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक र प्राविधिक क्षेत्रमा चीनले हासिल गरेका उपलब्धिबारे अध्ययन एवं अनुभव आदानप्रदान गर्नेछ।
यसै क्रममा नोभेम्बर १८ मा टोलीले छेङ्दुस्थित ‘जायन्ट पाण्डा ब्रिडिङ’ केन्द्रको अवलोकन गर्नुका साथै सिचुवान विश्वविद्यालयमा विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी हुने तालिका छ। त्यसपछि नोभेम्बर १९ मा टोली जेजियाङ प्रान्त प्रस्थान गर्नेछ।
भ्रमण टोलीका सदस्य तथा रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्द चन्दले चीनले नवप्रवर्तन र प्रविधिको क्षेत्रमा गरेको विकासलाई नेपालको आवश्यकताअनुसार उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि र औद्योगिक विकासका क्षेत्रमा चीनले अपनाएका नीति तथा संस्थागत अभ्यासबारे टोलीले जानकारी लिनेछ।
“प्रविधि र अनुभवलाई नेपालको आवश्यकता तथा क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन र उद्यमशीलता विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा विचार आदानप्रदान गर्ने अपेक्षा राखेको छु,” चन्दले भने।
त्यस्तै, टोलीका सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा आत्मीय सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।भ्रमणबाट आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार हुनुका साथै दुई देशबीचको राजनीतिक सम्बन्ध सुदृढीकरण तथा आगामी उच्चस्तरीय भ्रमणको तयारीमा समेत सहयोग पुग्ने उनको अपेक्षा छ।
चीन भ्रमणमा जाने टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन्।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह र शनिबार पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भूमिका खेल्न निर्देशन दिएका थिए।
अर्कोतर्फ, पार्टीभित्रैबाट यति ठूलो सङ्ख्यामा सांसदहरूको जम्बो टोली एकैपटक विदेश भ्रमणमा निस्किएको विषयलाई लिएर केही असन्तुष्टिसमेत देखिएको छ।
प्रतिक्रिया