तीव्रखबर
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही फेरि सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि ट्रम्पको अभिव्यक्ति केही नरम देखिए पनि इरानमाथि थप आक्रमणको सम्भावना कायमै रहेको छ ।
फक्स न्युजका अनुसार ह्वाइट हाउसमा बुधबार र बिहीबार यस विषयमा महत्त्वपूर्ण बैठक भएका थिए । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको आणविक कार्यक्रम स्थायी रूपमा अन्त्य गर्न थप आक्रमण आवश्यक पर्ने वा नपर्नेबारे अमेरिकाले चाँडै निर्णय गर्ने बताएका थिए ।
उनले इरानको बाँकी भूभागमा थप क्षति पुर्याउन आफू नचाहेको उल्लेख गर्दै आवश्यकता परे त्यसो गर्नुपर्ने हुन सक्ने बताएका छन् ।
यसअघि ट्रम्पले इरानको बाँकी सैन्य क्षमता, ऊर्जा पूर्वाधार र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएका थिए । इरानलाई पुनर्निर्माण गर्न २५ वर्ष लाग्न सक्ने उनको अनुमान छ ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले इरानमा प्रमुख सैन्य कारबाही पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्याएको भए पनि ह्वाइट हाउसबाट औपचारिक निर्देशन प्राप्त भइसकेको छैन ।
ट्रम्पले यसअघि अक्टोबर ८ मा नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका थिए । तर, निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेसँगै इन्धनको मूल्यवृद्धि र युद्धप्रति अमेरिकी जनसमर्थन घटिरहेको अवस्थामा थप सैन्य कारबाहीले ट्रम्प प्रशासनलाई राजनीतिक दबाबमा पार्न सक्ने देखिएको छ ।
यसैबीच, इराकका प्रधानमन्त्री अली फालेह अल–जैदीले बिहीबार ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्नो भूमिलाई छिमेकी राष्ट्रविरुद्ध आक्रमण गर्न प्रयोग गर्न नदिन आग्रह गरेका छन् । इराकी प्रधानमन्त्री कार्यालयका अनुसार उनले सबै राष्ट्रको सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
इरानमाथि थप सैन्य आक्रमण गर्ने वा वार्तामार्फत द्वन्द्व समाधान गर्ने अमेरिकी निर्णयले हर्मुज जलघाँटी हुँदै हुने समुद्री ढुवानी तथा विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।
प्रतिक्रिया