तीव्रखबर
दैलेख– दैलेखमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा झन्डै एक महिनादेखि जिल्ला प्रशासन कार्यालयका कामकाज प्रभावित भएका छन् । दसैँ सकिएर तिहार नजिकिँदासमेत नयाँ प्रजिअ नआएपछि सेवाग्राहीका दैनिक कामदेखि आर्थिक तथा प्रशासनिक गतिविधिमा समेत समस्या देखिएको छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय हाल सहायक प्रमुख जिल्ला अधिकारीको भरमा सञ्चालन भइरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीका अनुसार प्रजिअ नहुँदा आर्थिक कारोबार र ठूला मुद्दाको सुनुवाइ तथा फैसला गर्ने काम प्रभावित भएको छ । आफूलाई त्यस्ता काम गर्ने अधिकार नभएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्ला प्रशासन कार्यालयका २२ कर्मचारीले तलब पाउन सकेका छैनन् भने जीवन निर्वाह भत्ता पाउने ३० जनाको भुक्तानीसमेत रोकिएको छ ।
त्यस्तै, कानुनी प्रक्रियाअनुसार धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले पाउने क्षतिपूर्ति तथा विपद् प्रभावितले पाउने राहत रकम वितरणसमेत रोकिएको लेखापाल रूपाखेतीले जानकारी दिए ।
भौगोलिक रूपमा संवेदनशील मानिने दैलेखमा कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्गको आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि पनि प्रशासनिक नेतृत्व आवश्यक छ । तर, लामो समयदेखि प्रमुख जिल्ला अधिकारी नहुँदा शान्ति सुरक्षा र प्रशासनिक समन्वयमा समेत चुनौती थपिएको छ ।
उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले जनताका दैनिक काम प्रभावित भइरहेकाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने बताए ।
प्रतिक्रिया