November 6, 2026, 1:27 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

कार्तिक २०, २०८३ मा प्रकाशित | ३४०४ दर्शक तीव्रखबर

बनेपा– तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् ।  पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन्।

परदेशमा १७ वर्ष बिताएर फर्किएका उनले पाँच रोपनीबाट सुरु गरेको फूलखेती अहिले १४ रोपनीमा विस्तार गरेका छन् ।

नौ वर्षअघि स्वदेश फर्किएको दुई–तीन वर्ष खासै काम गरेनन् तर घरमै निष्क्रिय भएर बस्न सहज नलागेपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले उनले कृषि व्यवसाय रोजे। यसमा परिवारबाट पनि पूर्ण साथ र सहयोग प्राप्त भयो ।

पाँच वर्षअघि कृषि व्यवसाय सुरु गरेका उनले सुरुका दुई वर्ष गोलभेँडा र काँक्रोखेती गरे। तरकारीखेतीबाट अनुभव बटुलेका उनले पछि फूलखेतीको सम्भावना देखे। दसैँ र तिहारजस्ता पर्वमा सयपत्री फूलको माग हुने भएकाले त्यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने सोच बनाए । सोही सोचअनुसार पाँच रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरे।

पहिलो वर्षको उत्पादन र बिक्रीको अनुभवले उनलाई यस व्यवसायमा अघि बढ्न थप हौसला मिल्यो । सुरुमा सीमित क्षेत्रफलमा गरिएको खेतीलाई विस्तार गर्दै अहिले १४ रोपनीमा पुर्‍याएको छ । उनले जापानी र थाई जातका हाइब्रिड सयपत्री फूल लगाएका छन् ।

फूलखेतीका लागि बिरुवा रोप्ने काम साउन महिनादेखि सुरु हुन्छ । रोपेको करिब तीन महिनामा फूल बिक्रीका लागि तयार हुने उनले बताए। दसैँ र तिहारमा फूलको खपत बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर खेती व्यवस्थापन गर्दै आएका छन् ।

फूलको मौसम सकिएपछि उनले खेतबारी खाली राखेनन्। सयपत्री फूलको बिक्रीको समय सकिएपछि अन्य सागसब्जी तथा तरकारी लगाउने गर्छन्। एउटै खेतीमा मात्र निर्भर नभई वर्षभरि जमिनको उपयोग गर्ने उनको अभ्यास छ ।

घिमिरेको फूलखेतीले उनलाई मात्र होइन, अन्य व्यक्तिलाई पनि रोजगारी दिएको छ । खेतीमा १० जना कामदार संलग्न छन् । फूल रोप्ने, गोडमेल गर्ने, स्याहार गर्ने र टिप्ने काममा उनीहरूको सहयोग लिने गरिएको छ ।

गत वर्ष करिब छ हजार किलो फूल उत्पादन गरेनन् घिमिरेले बिक्रीबाट खर्च कटाउनुअघि करिब रु १८ लाख आम्दानी गरेका थिए । यसवर्ष पनि फूलको उत्पादन राम्रो भएको उनले बताए। तर उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित नहुने उनको अनुभव छ । बजारको माग र मूल्यले किसानको आम्दानी निर्धारण गर्ने भएकाले उनी अहिले फूल बिक्रीको उचित समय पर्खिरहेका छन्।

यस वर्ष तिहार केही ढिलो परेकाले फूलको बिक्री र मूल्यमा असर पर्न सक्ने उनको अनुमान छ । उत्पादन राम्रो भए पनि तत्कालै सबै फूल बिक्री नगरी तिहारको मुखमा मूल्य बढ्ने आशासहित बजारको अवस्था पर्खिरहेको उनले बताए। यस वर्ष फूलको मूल्य प्रतिकिलो करिब रु २५० पुग्ने उनको अपेक्षा छ।

“उत्पादन राम्रो भएको छ । अब बजारले कस्तो मूल्य दिन्छ भन्ने भोलिको कुरा हो । हतार गरेर फूल बिक्री गरेको छैन । तिहारको मुखमा राम्रो भाउ आउछ कि भन्ने आशा छ”, उनले भने।

किसानका लागि उत्पादन गर्नु एउटा पक्ष हो भने उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्नु अर्को चुनौती हो । फूलको उत्पादन राम्रो भए पनि बजारमा माग र मूल्य कस्तो हुन्छ भन्ने कुरा पहिल्यै निश्चित गर्न सकिँदैन ।

पर्वको समयमा एकैपटक धेरै किसानको उत्पादन बजारमा पुग्ने भएकाले मूल्यमा उतारचढाव हुन सक्ने जोखिम रहने उनको अनुभव छ । किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित हुनसके व्यवसायलाई थप व्यवस्थित बनाउन सहज हुने उनले बताए।

स्वदेशमै फूल उत्पादन भइ रहेका बेला विदेशबाट फूल आयात हुने गरेकोप्रति उनको असन्तुष्टि छ । नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिनसके स्वदेशी उत्पादनको बजार विस्तार हुने र किसानलाई थप प्रोत्साहन मिल्ने उनले भने। विशेषगरी तिहारका बेला स्वदेशी फूलको माग र खपत बढाउनसके स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने उनको अपेक्षा छ ।

“स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिएर विदेशबाट फूल आयात नगर्ने हो भने किसानलाई धेरै राहत हुन्थ्यो”, उनले भने ।

विदेशमा लामो समय बिताएर फर्किएका घिमिरे अहिले आफ्नै गाउँमा कृषि व्यवसायमा रमाएका छन् । उनका लागि फूलखेती आम्दानीको माध्यम मात्र बनेको छैन, काम गर्ने इच्छा र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्ने अवसर समेत बनेको छ । फूलको मौसममा सयपत्री र अन्य समयमा सागसब्जी तथा तरकारी उत्पादन गर्दै उनले वर्षभरि खेतबारीलाई व्यस्त राखेका छन् ।

कृषि व्यवसायलाई निरन्तरता दिँदै आएका उनी अहिले उत्पादनसँगै बजारको अवस्थालाई पनि उत्तिकै महत्व दिन्छन् । मिहेनत गरेर उत्पादन गरेको फूलले उचित मूल्य पाउनसके किसानलाई यस क्षेत्रमा टिकिरहन सहज हुने उनको विश्वास छ ।

स्वदेशमै उत्पादन र बजारीकरणको वातावरण बन्न सके पुष्पखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सक्ने उनको अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *