तीव्रखबर
एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गरेका छन् ।
ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको तस्बिरसहित ‘कहिल्यै पछि नहट्ने’ सन्देश सार्वजनिक गरेको छ । निर्वाचनमा रिपब्लिकन पार्टी कमजोर देखिए पनि ट्रम्पले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिने संकेत गरेका हुन् ।
डेमोक्रेटिक पार्टीले कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रक्षेपण भइरहेका बेला ट्रम्पले इरान युद्धका कारण छोटो अवधिमा पेट्रोलको मूल्य बढ्दा निर्वाचन परिणाम प्रभावित भएको स्वीकार गरेका छन् । तर, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य अभियान आवश्यक रहेको उनको दाबी छ ।
आफू निर्वाचनमा उम्मेदवार भएको भए रिपब्लिकन पार्टीले जित्ने दाबी गर्दै ट्रम्पले चुनावी सभामा देखिएको आफ्नो लोकप्रियता अन्य उम्मेदवारमा हस्तान्तरण हुन नसकेको बताएका छन् ।
यसैबीच, उपराष्ट्रपति जेडी भान्सले आन्तरिक सर्वेक्षणले इरान युद्ध, मुद्रास्फीति, ‘अमेरिका फर्स्ट’ नीति र इजरायलसँगको सम्बन्धप्रति मतदातामा असन्तुष्टि देखाएको बताएका छन् । उनले इरान युद्धलाई रिपब्लिकन पार्टीको चुनावी पराजयको प्रमुख कारणका रूपमा औँल्याएका छन् ।
प्रतिक्रिया