November 5, 2026, 10:40 am
» सापकोटा मोबाइल प्रकरणले ततायो राजनीति, पद्मा अर्यालले खोलिन् मुख! » नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार » अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १८ रनले पराजित » प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ » ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

आईजीपी कार्कीलाई हटाइयो, प्रहरी संगठनको नेतृत्वमा मनोज केसी

कार्तिक १८, २०८३ मा प्रकाशित | २७०४ दर्शक तीव्रखबर

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ। बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि ३३औँ प्रहरी महानिरीक्षकका रूपमा संगठनको कमान्ड सम्हालिरहेका दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरिएको बताइएको छ।

पछिल्लो समय सरकार र निवर्तमान आईजीपी कार्कीबीच सम्बन्ध चिसिएको चर्चा थियो। विशेषगरी उच्च पदस्थ व्यक्तिहरू संलग्न अनुसन्धानका संवेदनशील फाइल, मन्त्रिपरिषद्का गोप्य रणनीति तथा राज्यका महत्त्वपूर्ण सूचना बाहिरिएको विषयलाई लिएर गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय असन्तुष्ट रहेको दाबी गरिएको छ।

प्रहरी नेतृत्वप्रति राजनीतिक तथा शासकीय तहमा अविश्वास बढेको पृष्ठभूमिमा सरकारले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएर नेतृत्व परिवर्तनको निर्णय गरेको बताइएको छ।

नवनियुक्त आईजीपी डा. मनोजकुमार केसी नेपाल प्रहरीभित्र व्यावसायिक र निडर अधिकृतका रूपमा परिचित छन्। नक्कली भुटानी शरणार्थी प्रकरणलगायत उच्च पदस्थ व्यक्तिहरू संलग्न चर्चित अपराधको अनुसन्धानमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सीआईबी प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका केसीलाई अनुसन्धानमा व्यावसायिकता, निष्पक्षता र कार्यकुशलताका लागि चिनिन्छ।

प्रहरी संगठनभित्र राजनीतिक दबाब, सूचना सुरक्षाको चुनौती र शान्ति-सुरक्षा व्यवस्थापनजस्ता चुनौतीबीच नयाँ नेतृत्वले संगठनलाई कसरी अघि बढाउँछ भन्ने चासो बढेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *