November 6, 2026, 1:27 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

कार्तिक १०, २०८३ मा प्रकाशित | २६०४ दर्शक तीव्रखबर

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् । पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएका छन् । पङ्गेनीले  थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् ।

एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा लगाएका छन्।

कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर गरेको खेती अहिले निक्कै फस्टाएर गएको छ ।

‘व्यावसायका क्रममा मैले धेरै क्षेत्रमा हात हाले’, उनले भने, ‘सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ ।’

सुरुमा स्थानीय ‘मालभोग’ र ‘जि नाईन’ प्रजातिको केरा लगाउनुभएका पङ्गेनीले हाल जि नाईन जातको केरा हटाएर स्थानीय मालभोगमात्रै लगाए।

केराबाट राम्रो आम्दानी हुन थालेपछि धान तथा मकै खेती हुँदै आएको जमिनमा केरा खेती विस्तार गरेको उनले बताए ।

‘अन्य खेतीभन्दा केरा खेती सहज लाग्यो, उत्पादित केराको बजारको माग पनि उच्च रहेकाले केरा खेती थालेको हुँ ।’ उनले भने, ‘आफ्नो १३ रोपनी र बाँकी अरुको जग्गा बन्धकी र भाडामा लिएर ६१ रोपनी क्षेत्रफलमा केरा खेती छ ।’

यहाँ उत्पादन भएको स्थानीय जातको मालभोग केरा अन्य केराभन्दा ठुलो, आकर्षक र विषादीरहित तरिकाले पकाएर बिक्री गर्ने भएकाले पनि स्थानीय बजारमा अत्यधिक खपत हुने गरेको उनले बताए।

विषादी तथा अखाद्य व्स्तुको प्रयोग गरेर केरा नपकाउने र अर्गानिक केरा भएकै कारण पनि स्थानीय चापाकोट बजारमा केरा बिक्री हुँदै आएको छ ।

राम्रो र ठुला कोसा भएको केरा प्रतिदर्जन रु २०० र साना कोसा भएका केरा प्रतिदर्जन १५० का दरले बिक्री हुने गरेको छ ।

‘खेतमा रहेका छ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिन्छन्’, उनले भने, ‘यी बोटहरुबाट उत्पादन भएका केरा बिक्रीबाट वार्षिक एघार लाख बढी आम्दानी हुँदै आएको छ ।’

खेतमा भएका सबै बोटले उत्पादन दिनथालेपछि वार्षिक तीस लाख बढी आम्दानी हुने लक्ष्य उनको छ ।

घरपरिवारले रेखदेख गर्दै आएको उक्त केरा खेतीमा गोडमेललगायत समयमा भने स्थानीयलाई रोजगारीसमेत हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *