October 25, 2026, 12:55 pm
» एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का » सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु » विवादित अडियोबारे खगेन्द्र सुनारको लिखित इन्कारी, प्रमाण खोज्दै छानबिन समिति » काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना » बैतडीमा भूकम्पको धक्का महसुस

विवादित अडियोबारे खगेन्द्र सुनारको लिखित इन्कारी, प्रमाण खोज्दै छानबिन समिति

कार्तिक ८, २०८३ मा प्रकाशित | १८०४ दर्शक तीव्रखबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्।

सुनार र एक महिलाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि पार्टीको अनुशासन आयोगले गठन गरेको छानबिन समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ। समितिका संयोजक तथा अनुशासन आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सुनारले लिखित पत्रमार्फत अडियोमा सुनिएको बोली आफ्नो नभएको जिकिर गरेका छन्। पत्रमा सामाजिक सञ्जालमार्फत यसअघि सार्वजनिक गरेका धारणासमेत समेटिएको उनले बताएका छन्।

विवादित अडियो सार्वजनिक भएपछि सुनारले उक्त सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गरेका थिए। प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको जिकिर छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोप झुटा भएको र प्रविधिको प्रयोग गरेर आफूविरुद्ध प्रचार गरिएको दाबी गरेका थिए।

सुनारले आरोप अस्वीकार गरेपछि छानबिन समितिले स्वतन्त्र प्रमाण जुटाउने प्रक्रिया अघि बढाएको छ। समितिले अडियो प्रसारण गरेको जनआस्था पत्रिकाबाट सम्पादन गर्नुअघिको अडियो प्राप्त गरेको छ। त्यस्तै, पीडित भनिएकी महिलाको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्यूज २४ लाई पत्राचार गरिएको संयोजक भट्टराईले जानकारी दिएका छन्।

समितिले प्राप्त अडियोको आन्तरिक रूपमा परीक्षण गर्ने र आवश्यक परे सम्बन्धित निकायमार्फत प्राविधिक जाँच गराउने तयारी गरेको छ। प्राविधिक परीक्षणपछि सुनारसँग सोधपुछ गरिने भट्टराईले बताएका छन्। परीक्षणमा लाग्ने समयका कारण अनुसन्धान पूरा हुन केही ढिलाइ हुन सक्ने उनको भनाइ छ।

सुनारको लिखित इन्कारी र महिलाको अन्तर्वार्तामा व्यक्त विचारका कारण अनुसन्धान थप जटिल बनेको समितिको भनाइ छ। यद्यपि, प्राविधिक परीक्षणसहित आवश्यक प्रक्रिया पूरा गरेर छानबिनलाई छिट्टै टुंग्याउने प्रयास भइरहेको जनाइएको छ।

विवादित अडियो सार्वजनिक भएलगत्तै रास्वपाले घटनाबारे चासो देखाउँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो। छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *