October 21, 2026, 4:20 pm
» उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी ! » दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

कार्तिक ४, २०८३ मा प्रकाशित | ३१०४ दर्शक तीव्रखबर

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् ।

सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदी बताउँछन् ।

“टीकाका दिन आज आफन्तकामा आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य रुपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन बाक्लो देखिएको छ ।”, उनले भने । ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्धरुपमा ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन् । दसैँ मनाउन गाउँघर पुगेको सर्वसाधारण आफ्नो पेसा व्यवसायका सिलसिलामा पुनः काठमाडौँ फर्कने क्रम पनि आजैदेखि सुरु भएको छ । नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी सधानको यान्त्रिक परीक्षण, तीव्र गति, चालकले मादक पदार्थ र लागु औषध सेवन गरे, नगरेको परीक्षणलगायतलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीको सक्रियताका कारण सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको उनको भनाइ छ । अब दसैँ मानेर काठमाडौँ फर्कने यात्रुको चाप बढ्ने हुँदा प्रमुख नाका र राजमार्गमा सोही अनुसारको व्यवस्थापन गरिने प्रहरीले जनाएको छ । दसैँका अवसरमा काठमाडौँ उपत्यकाबाट करिब दश लाख नागरिक बाहिरिएको सुरक्षा निकायको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *