October 22, 2026, 11:10 am
» दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी » उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी !

देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी !

कार्तिक ४, २०८३ मा प्रकाशित | २८०४ दर्शक तीव्रखबर

काठमाडौं : बडा दशैं अन्तर्गत आज विजयादशमीको दिन  मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने क्रम जारी रहेको छ। घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई आज बिहान ८:४९ बजे विसर्जन गरेपछि शुभसाइतमा टीका सुरु भएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जानकारी गराएको छ।

दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताए।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

विजयादशमीको दिन आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रुपमा मनाइने विजयादशमी बडा दशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *