October 14, 2026, 2:04 pm
» नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार » स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु » लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य » मनसुन पूर्णरूपमा बाहिरियो » एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

अशोज २७, २०८३ मा प्रकाशित | ३९०४ दर्शक तीव्रखबर

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण हुँदा एउटा जहाज डुबेको छ। बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार घटनाबारे जानकारी दिएको हो।

बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार ‘चेल्सी ३’ नामक जहाजमाथि स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो। माल्टाको झन्डामा सञ्चालन भइरहेको उक्त जहाज युक्रेनी स्वामित्वको रहेको र युक्रेनको ओडेसामा दर्ता भएको उनले बताए।

जहाजका चालक दलका सदस्यका अनुसार तीनवटा हवाई ड्रोनले आक्रमण गरेका थिए। जहाजमा सवार युक्रेनका सात र अजरबैजानका आठ गरी १५ जना चालक दलका सदस्यलाई बुल्गेरियाली अधिकारीहरूले सकुशल उद्धार गरेका छन्। उनीहरूलाई भर्ना बन्दरगाहमा पुर्‍याइएको थियो भने पाँच जनाले स्वास्थ्य उपचारसमेत पाएका छन्।

यसैगरी, क्रापेत्स सहरबाट करिब १७ समुद्री माइल पूर्वमा अर्को व्यापारिक जहाजमाथि पनि आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। उक्त जहाज डुबेको र त्यसमा सवार चालक दलका एक सदस्यलाई उद्धार गरिएको सरकारी सूचना सेवाले जनाएको छ।

बुल्गेरियाको तट नजिकै एक साताभित्र व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको यो दोस्रो घटना हो। यसअघि अक्टोबर ६ मा बायलाबाट करिब ७० समुद्री माइल पूर्वमा बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा अज्ञात ड्रोनको आक्रमणबाट एउटा व्यापारिक जहाज डुबेको थियो भने अर्को जहाजमा आगलागी भएको थियो।

प्रधानमन्त्री रादेवले बुल्गेरियाको प्रादेशिक जलक्षेत्र नजिकै व्यापारिक जहाजमाथि बारम्बार आक्रमण हुनु पूर्ण रूपमा अस्वीकार्य रहेको बताए।

उनका अनुसार घटनाबारे उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघ (ईयू) का लागि बुल्गेरियाका स्थायी प्रतिनिधिहरूलाई जानकारी गराइएको छ। यस विषयमा नाटोका महासचिव मार्क रुटेसँग पनि छलफल गर्ने उनले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *