October 12, 2026, 6:34 am
» नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च » सुनचाँदीको मुल्य घट्यो » सडक खन्ने क्रममा सुक्खा पहिरो: एक्काभेटरसहित चालक पुरिए, सह-चालक घाइते » पार्टी रूपान्तरणमा इमानदारीपूर्वक काम गर्छु- उदयशमशेर राणा » काठमाडौं उपत्यकामा आजदेखि असोज ३० गतेसम्म यी स्थानमा ग्यास वितरण गरिने

सडक खन्ने क्रममा सुक्खा पहिरो: एक्काभेटरसहित चालक पुरिए, सह-चालक घाइते

अशोज २६, २०८३ मा प्रकाशित | २४०४ दर्शक तीव्रखबर

मुगु। मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्काभेटर (स्काइभेटर) र त्यसका चालक पुरिएका छन् भने सह-चालक घाइते भएका छन्।

खत्याड गाउँपालिका-११ स्थित बिरा खोलामा मुगु-रारा भित्री सडक खण्डको बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८:३० बजे माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो।

पहिरोमा परी बा ३ क ३२७६ नम्बरको एक्काभेटर र त्यसका चालक बझाङ घर भएका २४ वर्षीय बिमल बाग पुरिएका छन्। पहिरोले एक्काभेटरसहित चालक पुरिएपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा परी एक्काभेटरका सह-चालक सोरु गाउँपालिका-१ का २२ वर्षीय बिनय मल्ल घाइते भएका छन्। एक्काभेटर बाहिर बसेर माथिबाट ढुंगा खस्छ कि भनेर हेरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर उनको हात र खुट्टामा चोट लागेको छ।

घाइते मल्लको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी कुराकानी गर्नसक्ने स्थितिमा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिराज थपलियाले जानकारी दिए।

घटनालगत्तै उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय रातापानी, मुगुबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमान्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) आनन्द कुमार प्याकुरेलको कमान्डमा ७ जना गरी कुल १३ जनाको संयुक्त प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ।

उक्त घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिम दूरीमा पर्दछ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *