September 28, 2026, 9:49 pm
» म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते » पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर आपत्ति » दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति » ‎तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सांसद पराजुलीको माग » नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु

नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु

अशोज १२, २०८३ मा प्रकाशित | १३०४ दर्शक तीव्रखबर

काठमाडौं । आज सेप्टेम्बर २८ अर्थात् विश्व रेविज दिवस २०२६ मनाइँदैछ । रेविजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वय सुदृढ गर्दै रेविज निवारणतर्फको प्रतिबद्धता दोहोर्‍याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाइन्छ ।

सेप्टेम्बर २८ लुइ पास्चरको स्मृति दिवस पनि हो । रेविजविरुद्धको पहिलो सफल खोप विकासमा उनको महत्वपूर्ण योगदान रहेको थियो। यस वर्ष ‘एकतामा शक्ति, रेविजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेविज दिवस मनाइँदैछ ।
रेविज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० मानिसको रेविजका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसियामा र ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको छ । रेविजका कारण मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानव रेविजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन् ।
नेपालमा पनि रेविज महत्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा देशभर २ लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटना रिपोर्ट भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको छ ।
नेपालमा हुने मानव रेविजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन् । नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु हुने अनुमान गरिएको छ । नेपालको करिब ५० प्रतिशत जनसंख्या उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र बालबालिका विशेष जोखिममा रहने अवस्था छ । रेविजसम्बन्धी सेवा विस्तार गर्ने क्रममा देशभर हाल २८६ वटा सेवा केन्द्रबाट रेविजविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ ।
कुकुर, बिरालो वा अन्य सम्भावित रेविज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा त्यसलाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्न हुँदैन भने यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनु हुँदैन ।
त्यसपछि सम्भव भएसम्म तत्काल नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप सुरु गर्नुपर्छ । स्वास्थ्यकर्मीले दिएको सल्लाहअनुसार उपचारको निर्धारित प्रक्रिया पूरा गर्नुपर्छ । जनावरको टोकाइलाई सानो घाउ भन्दै बेवास्ता गर्नु हुँदैन । रेविजको लक्षण देखिएपछि यो सतप्रतिशत घातक हुने भएकाले लक्षण देखिने समय पर्खनु हुँदैन । जनावरले टोकेपछि समयमै उचित उपचार लिनु नै रेविजबाट हुने मृत्यु रोक्ने प्रमुख उपाय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *