तीव्रखबर
काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका लागि अवरोध हटाउने कार्य जारी छ ।
बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।
पछिल्लो वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए ।
केही स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै केही समय लाग्ने सक्ने उनले जानकारी दिए ।
उनले जापानी ठेक्का अन्तर्गतको काभ्रेपट्टिको अन्तिम खण्डमा बाढीले सडक धेरै बगाएकाले काम सम्पन्न हुन मंगलबारसम्म लाग्ने सडक डिभिजन कार्यालयका प्राविधिकहरूले जनाएको उल्लेख गरे ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूले अवरुद्ध बीपी राजमार्गको स्थलगत निरीक्षण समेत गरेका थिए ।
प्रतिक्रिया