September 28, 2026, 9:49 pm
» म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते » पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर आपत्ति » दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति » ‎तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सांसद पराजुलीको माग » नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

अशोज १२, २०८३ मा प्रकाशित | १००४ दर्शक तीव्रखबर

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्णरूपमा ढलेको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ बजेर ३५ मिनेटमा पहिरोले बगाएर खोलामा पुर्‍याएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पहिरोले घर ढलेपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ । घटनापछि प्रहरीले जोखिमको अवस्था र क्षतिको विवरण संकलन गरिरहेको छ ।

पहिरो खस्न भने आइतबारदेखि नै सुरु भएको थियो । आइतबार दिउँसो १ः४० बजे थापाको घरको भुइँतलासँग जोडिएको ट्रसबाट बनेको किचन करिब २० मिटर तल खसेको थियो । त्यसपछि घरमा थप जोखिम बढेपछि थापासहित तीन जनाको परिवार आइतबार नै आफन्तको घरमा सरेका थिए ।

परिवारका सदस्यहरू समयमै सुरक्षित स्थानमा सरेकाले घर ढले पनि मानवीय क्षति नभएको एसपी मिश्रले जानकारी दिए ।

घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा चार जनाको टोली खटिएको छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी टोली पनि घटनास्थलमा पुगेर घरभित्र रहेका सामानहरू सुरक्षित स्थानमा सारिरहेको छ ।

यस्तै, घटनाको मुचुल्का तयार गर्न सातदोबाटो प्रहरी वृत्तबाट मुचुल्का टोलीसमेत घटनास्थलमा खटाइएको एसपी मिश्रले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *