तीव्रखबर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी, कटाक्ष तथा साइबर बुलिङ गर्ने पार्टीका नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपद्का बेला पीडित नागरिकको पक्षमा उभिनुपर्नेमा उनीहरूको पीडा र आक्रोशलाई होच्याउने प्रवृत्ति स्वीकार्य नहुने बताए।
उनले विपद्मा परेका नागरिकलाई होच्याउने ‘अन्धसमर्थक’ रास्वपालाई आवश्यक नरहेको भन्दै शोक र पीडामा रहेका नागरिकको आवाज सुन्ने तथा उनीहरूको पक्षमा उभिने सदस्य आवश्यक रहेको बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँशु पुछ्ने सदस्यहरू चाहिएको छ,’ लामिछानेले भने।
नागरिकको चित्कार र आक्रोशलाई गलत ढंगले व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने तथा साइबर बुलिङ गर्ने अधिकार पार्टीका कुनै पनि नेता–कार्यकर्तालाई नभएको उनले स्पष्ट पारे।
लामिछानेका अनुसार रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारी विपद् पीडित नागरिकमाथि तुच्छ टिप्पणी वा साइबर बुलिङमा संलग्न भएको प्रमाणित भए तत्काल साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिनेछ।
विपद्का बेला पीडितको घाउमा नुनचुक छर्किने प्रवृत्तिका व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको उनको भनाइ छ।
लामिछानेले सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानसम्म विपद् पीडित नागरिकप्रति गरिने तुच्छ टिप्पणी र कटाक्ष तत्काल रोक्न सरकारसँग समेत आग्रह गरे। त्यस्ता गतिविधिविरुद्ध केवल विज्ञप्ति जारी गरेर नभई नागरिकले अनुभूति गर्ने गरी कारबाही गर्नुपर्ने उनले बताए।
प्रतिक्रिया