तीव्रखबर
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन–जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली भाषण र औपचारिकताबाट नभई सरकारका काम र व्यवहारबाट पुष्टि हुनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले जेन–जी आन्दोलनका क्रममा भएको नरसंहारका अभियुक्तहरू पक्राउ परेर छुटिसकेको तथा अहिलेसम्म उनीहरूमाथि मुद्दा नचलाइएको भन्दै सरकारको आलोचना गरे।
जेन–जी आन्दोलनको जगमा बनेको सरकार भए पनि आन्दोलनमा सहभागी भएकै आधारमा सयौँ युवा अझै जेलमा रहेको उनको दाबी थियो। उनले जेन–जी परिषद् गठन तथा दसबुँदे सम्झौता कार्यान्वयनमा समेत अपेक्षित प्रगति हुन नसकेको बताए।
सरकारले सुशासनका लागि तीव्र गतिमा अघि बढ्न खोजे पनि अदालतका आदेशका कारण अवरोध सिर्जना भइरहेको टिप्पणी गर्दै प्रसाईंले भने, ‘सरकार सुशासनको स्पिडमा दौडिन खोज्छ, के नमिलेर हो अदालतले झ्याप झ्याप ब्रेक लगाइदिन्छ।’
उनले अहिले भाषण गर्नेभन्दा सरकारले अहिलेसम्म गरेका काम र कर्मको हिसाबकिताब जनतासामु बुझाउने समय आएको बताए।
प्रसाईंले ऐतिहासिक अवसरलाई न्याय गर्न नसके भविष्यले वर्तमान नेतृत्वलाई कठोर रूपमा मूल्यांकन गर्ने चेतावनीसमेत दिए।
उनले भने, ‘सत्य तितो हुन्छ सभामुख महोदय, तर पचाउन सक्नुपर्छ। यदि यो ऐतिहासिक अवसरलाई न्याय गर्न सकिएन भने जसका विरुद्ध जेन–जी आन्दोलन भएको थियो, इतिहासले तिनीहरूलाई भन्दा बढी तपाईँ र मलाई धिक्कार्नेछ।’
प्रतिक्रिया