October 24, 2026, 6:18 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

सांसद संग्रौलाको प्रतिपक्षीमाथि आक्रोश : ‘कालो चस्मा होइन, कालो नियतमाथि प्रश्न गरौँ’

भदौ २, २०८३ मा प्रकाशित | ३८०४ दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न उठाउने प्रतिपक्षी दलहरूप्रति कडा आक्रोश व्यक्त गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताले परिवर्तन र नयाँ नेतृत्वका पक्षमा मतदान गरेकाले रास्वपा सरकारमा आएको दाबी गरिन् । चुनावमा रास्वपाले १८२ सिटसहित बहुमत प्राप्त गरेको उल्लेख गर्दै उनले सरकारको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउनुको कुनै अर्थ नरहेको बताइन् ।

संग्रौलाले निर्वाचन परिणामलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै भनिन्, ‘यो पटक प्रष्ट रूपमा अन्धकार, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको खोल ओडेर देशलाई बर्बाद बनाउन खोज्नेहरूको अनुहार एल्गोरिदमले हेर्नै चाहेन । एल्गोरिदमले नयाँ हे¥यो, युवा हे¥यो, सम्भावना हे¥यो अनि परिवर्तनको घण्टी बजायो।’

उनले लामो समयदेखि जरो गाडेर बसेको बेथिति र भ्रष्टाचारविरुद्ध सरकारले उपचार सुरु गरिसकेको दाबी गरिन् । सरकारका कामका क्रममा समस्या वा आलोचना आउन सक्ने भए पनि त्यसलाई सुधार प्रक्रियाकै रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।

‘३५ वर्षको बेथिति र भ्रष्टाचारको चोटलाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले, यो सरकारले उपचार गर्न सुरु गरिसकेको छ । उपचार गर्ने क्रममा कतै चिर्नुपर्ने, कतै सिलाउनुपर्ने, कतै मिलाउनुपर्ने हुन्छ,’ उनले भनिन् ।

संग्रौलाले भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजलाई ‘क्यान्सर’को संज्ञा दिँदै त्यसबाट देशलाई मुक्त गर्नु सरकारको मुख्य उद्देश्य रहेको बताइन् ।

विगतका सरकारको आलोचना गर्दै उनले तत्कालीन नेतृत्वका क्रममा भएका घटनामा ज्यान गुमाएका नागरिकका परिवार अझै पीडामा रहेको अवस्थामा पुरानै नेतृत्वले पुनः सरकार सञ्चालन गर्ने दाबी गर्नु आश्चर्यजनक भएको टिप्पणी गरिन् ।

भदौ २३ र २४ गतेको जनविद्रोहको प्रसंग उल्लेख गर्दै उनले भनिन्, ‘भदौ २३ र २४ गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवाआमाहरू बरखी बारेर बसिरहनुभएको छ । उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन । कुन हिम्मतले फेरि यहाँ आउँछौँ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँहरूले भनिरहनुभएको छ ?’

बैठकमा प्रधानमन्त्रीले लगाउने कालो चस्माबारे भइरहेका टिप्पणीप्रति पनि उनले व्यंग्य गरिन् । चिनियाँ नेता देङ स्याओपिङको चर्चित भनाइ उद्धृत गर्दै उनले प्रधानमन्त्रीले कालो वा सेतो जुनसुकै चस्मा लगाए पनि देश निर्माण गर्न सके त्यसैलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

‘प्रधानमन्त्रीले कालो चस्मा लगाए पनि, सेतो चस्मा लगाए पनि, यो देश बनाइदिनुभयो भने पुगेन र सभामुख महोदय ?’ उनले प्रश्न गरिन् ।

प्रधानमन्त्रीको चस्मामाथि टिप्पणी गर्नुभन्दा प्रतिपक्षी दलहरूको नियतमाथि प्रश्न उठाउनुपर्ने उनको भनाइ थियो ।

‘त्यसकारण अब प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षी दलका सम्माननीयज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन्,’ उनले भनिन् ।

संग्रौलाले सरकारलाई बिनाअवरोध काम गर्न दिनुपर्नेमा जोड दिँदै सरकारका सकारात्मक कामको समर्थन र नकारात्मक कामको रचनात्मक आलोचना गर्ने स्वस्थ राजनीतिक संस्कार आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *