October 24, 2026, 6:17 am
» फ्रान्समा कारबाटै अन्धाधुन्ध गोली प्रहार: १ को मृत्यु, आक्रमणकारी प्रहरी नियन्त्रणमा » मौसम पूर्वानुमान: हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना » फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु » दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी » सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

रोकिएको बस अचानक गुड्यो, भ्यानलाई ठक्कर दिँदै ५० मिटर तल खस्यो; दुईको मृत्यु

साउन ३०, २०८३ मा प्रकाशित | ६००४ दर्शक तीव्रखबर

काठमाडौँबाट दुप्चेश्वर दर्शनका लागि गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा आज तीर्थयात्री सवार बस आफैँ गुडेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। घाइते तीन जनाको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको थियो। अस्पताल पुर्‍याएलगत्तै दुई जनाको मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालका अनुसार बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस काठमाडौँबाट तीर्थयात्री लिएर दुप्चेश्वर धामतर्फ जाँदै थियो। थानाभञ्ज्याङमा सडक छेउमा बस रोकिएको समयमा चालक र यात्रुहरू खाजा खान गएका थिए।

त्यस क्रममा बस आफैँ गुडेर अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको विद्युतीय भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र भ्यान दुवै सडकबाट करिब ५० मिटर तल खसेका थिए।

दुर्घटनापछि बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *