तीव्रखबर
विराटनगर। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले आइतबार कोशी अस्पतालको स्थलगत निरीक्षण गर्दै अस्पतालको सरकारी जग्गामा रहेका अतिक्रमित संरचना हटाउने प्रक्रिया तीव्र बनाउने निर्णय गरेका छन्।
शनिबार नियमित अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना हटाउन निर्देशन दिएकी थिइन्। त्यसकै निरन्तरतास्वरूप आइतबार गृहमन्त्री गुरुङसहित अस्पताल पुगेर दुवै मन्त्रीले अतिक्रमणको अवस्थाबारे निरीक्षण गरेका हुन्।
निरीक्षणपछि भएको छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध संरचना कानुनबमोजिम हटाउने निर्णय गरिएको छ। गृहमन्त्री गुरुङले स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी अतिक्रमित संरचना खाली गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले असार ५ गते जारी गरेको १५ दिने सूचनापछि पनि संरचना खाली नगरिनु दुःखद भएको बताउँदै अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमणमुक्त बनाइने जानकारी दिइन्। सरकारी अस्पतालको सम्पत्ति संरक्षण स्वास्थ्य सेवा सुधारको आधार भएकाले अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको सेवामा उपयोग हुनुपर्नेमा उनले जोड दिइन्।
अस्पताल प्रशासनका अनुसार कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन्। तीमध्ये केही संरचना तथा जग्गाको भाग व्यावसायिक प्रयोजनका लागि समेत प्रयोग हुँदै आएको प्रशासनको भनाइ छ।
प्रतिक्रिया