तीव्रखबर
दुबई, संयुक्त अरब एमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री पोस्ट गरेको आरोपमा एक नेपालीसहित ३५ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा १९ भारतीय पनि रहेका छन्।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार अमेरिका र इजरायलको समर्थनमा भइरहेको युद्धका कारण पश्चिम एसियामा बढ्दो तनावबीच यूएईले यस्तो कारबाही गरेको हो।
यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल साम्सीले आइतबार विभिन्न देशका २५ जनालाई पक्राउ गरी द्रूत सुनुवाइका लागि अदालतमा पेश गर्न आदेश दिएका छन्। तीमध्ये १७ जना भारतीय रहेका छन्। यसअघि शनिबार पनि दुई भारतीयसहित १० जनालाई पक्राउ गरिएको थियो।
अधिकारिहरूले यूएईमा बस्ने तथा काम गर्ने व्यक्तिहरूलाई आक्रमण भएका स्थानको भिडियो नखिच्न, अवरोध गरिएका मिसाइलका दृश्य सार्वजनिक नगर्न र पुष्टि नभएको सूचना सामाजिक सञ्जालमा नफैलाउन चेतावनी दिँदै आएका छन्।
यूएईको सरकारी समाचार एजेन्सीका अनुसार पक्राउ परेकाहरू तीन समूहमा विभाजित भई विभिन्न गतिविधिमा संलग्न रहेको पाइएको छ।
पहिलो समूहका १० जनाले देशको आकाशमार्गबाट गुज्रिरहेका वा अवरोध गरिएका मिसाइलका वास्तविक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। साथै उनीहरूले ती भिडियोमा टिप्पणी र ध्वनि प्रभाव थपेर सक्रिय आक्रमण भइरहेको जस्तो देखाउने प्रयास गरेका थिए। यस समूहमा पाँच भारतीय, एक पाकिस्तानी, एक नेपाली, दुई फिलिपिनो र एक इजिप्टियन रहेका छन्।
दोस्रो समूहका सात जनाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका बनावटी भिडियो पोस्ट गरेको वा विदेशमा भएका घटनाका भिडियो यूएईमा भएको भन्दै गलत दाबी गरेको आरोप छ। यसमा पाँच भारतीय, एक नेपाली र एक बंगलादेशी रहेका छन्।
तेस्रो समूहका छ जनाले एक ‘शत्रुतापूर्ण’ राष्ट्रको राजनीतिक तथा सैन्य नेतृत्वको प्रशंसा गर्दै पोस्ट गरेको आरोप लगाइएको छ। यस समूहमा पाँच भारतीय र एक पाकिस्तानी छन्।
यूएईका अधिकारीहरूका अनुसार यस्ता गतिविधि देशको कानुनअनुसार अपराध मानिन्छ। दोषी ठहर भए कम्तीमा एक वर्ष कैद र कम्तीमा एक लाख दिरहमसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया