September 19, 2024, 4:36 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

माघ १२ र १३ गते “सिनेमा संवाद@घान्द्रुक” कार्यक्रम हुने

माघ ११, २०७७ मा प्रकाशित | १८४०दर्शक तीव्रखबर

चलचित्र पत्रकार संघ कास्कीले “सिनेमा संवाद@घान्द्रुक” कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ १२ र १३ गते पर्यटकीय गाउँ घान्द्रुकमा हुने कार्यक्रमको तयारी पुरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराएका छन् ।

उनले लामो समयको बन्दाबन्दी पश्चात माघ १ गतेबाट खुलेको पर्यटकीय गाउँ घान्द्रुकको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए ।  उनका अनुसार कार्यक्रममा “सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना” र “सिनेमा साहित्य : सम्बन्ध र साझेदारी” विषयमा बहस गरिनेछ ।

गिरीले कोरोना महामारी रोक्न लगाइएको लकडाउन खुला भएपछि पनि चलचित्र र पर्यटन क्षेत्रमा आशातीत प्रगती हुन नसकेको र दुवै क्षेत्रलाई पुरानै लयमा फर्काउन आफुहरुले कार्यक्रमको आयोजना गरेको जानकारी गराए । कार्यक्रममा चलचित्र, साहित्य र पर्यटन सम्बद्ध विद्धत व्यक्तिहरुले अन्तरक्रिया गर्ने उनले बताए ।

कार्यक्रममा कलाकार तथा क्याप्टेन विजय लामा, कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी, चलचित्र निर्देशक सुदर्शन थापा, साहित्यकार गनेस पौडेल, साहित्यकार, भूषिता वशिष्ठ र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आफ्ना विचार राख्नेछन् । सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, निर्देशक तथा कलाकार दिनेश डिसी र पत्रकार वाशु मिश्र रहने जानकारी गराइएको छ ।

गिरीले “सिनेमा टुरिजम :सम्बन्ध र सम्भावना” विषयमा वक्ताहरु चलचित्र कलाकार तथा क्याप्टेन विजय लामा, निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बहस गर्ने बताए । जसमा सहजकर्ताको भूमिकामा पोखरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका वाशु मिश्र रहनेछन् । सो सेसनमा चलचित्र र पर्यटनको अहिलेसम्मको सम्बन्ध र भविष्यको सम्भावनाको बारेमा बहस हुनेछ ।

यस्तै, “सिनेमा साहित्य : सम्बन्ध र साझेदारी” विषयमा वक्ताहरु कलाकार दीपकराज गिरी, साहित्यकार गनेस पौडेल र साहित्यकार तथा कवि भूषिता वशिष्ठ रहने जानकारी गराइएको छ । जसमा सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, कलाकार तथा निर्देशक दिनेश डिसी रहनेछन् । साहित्य सिर्जना र चलचित्र निर्माणको प्रभावशाली क्षेत्र पोखरा भएकाले पनि आफुहरुले उक्त विषय रोजेको गिरीले बताए । उनले कार्यक्रमले साहित्यकार र चलचित्रकर्मीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएका छन् ।

माघ १२ गते पोखराबाट घान्द्रुकसम्मको यात्रा गरिने र बहस कार्यक्रम माघ १३ गते मंगलबारमात्र हुने अध्यक्ष गिरीले बताए । कार्यक्रम पर्यटन व्यवस्थापन समिति घान्द्रुकको समन्वयमा हुने जनाइएको छ । कार्यक्रमलाई सफल पार्न प्रोमोटेडको रुपमा गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्डले साथ दिएको छ ।

प्रतिक्रिया