तीव्रखबर
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि भएको आक्रमण प्रयासलाई कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। पार्टीले यो घटना लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको स्पष्ट हमला भएको बताएको छ।
आइतबार काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा हुने युवा जागरण कार्यक्रममा जाँदै गर्दा विराटनगरमा केही युवाहरूले दुव्र्यवहार गर्दै रातो मसी छ्याप्ने, बाटो अवरुद्ध गर्ने र नाराबाजी गर्ने प्रयास गरेका थिए।
कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बाराको सिमरामा भएको यस्तै प्रकृतिका घटनाहरूको पुनरावृत्तिको बारेमा पनि उल्लेख गरिएको छ, जसले गर्दा सरकारले यस्ता अराजक गतिविधिहरूलाई रोक्न आवश्यक ध्यान नदिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “राज्य संयन्त्रले आवश्यक नियन्त्रण गर्न र निरुत्साहन गर्न नसक्दा राजनीतिक हिंसा उक्साउने प्रवृत्ति बढ्दै गएको छ।”
एमालेको स्पष्ट भनाइ छ कि शान्तिपूर्ण भेला, खुला आवागमन र नागरिक सुरक्षामा रुकावट पुर्याउने कुनै पनि क्रियाकलापलाई स्वीकार गर्न सकिँदैन। पार्टीले सम्बन्धित व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्ने माग गर्दै सरकारसँग आग्रह गरेको छ।
प्रतिक्रिया