तीव्रखबर
सङ्खुवासभा, – नेपालका कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिममा रहेको जानकारी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सार्वजनिक गरेको छ। यस विषयमा आज सङ्खुवासभाको खाँदबारीमा आयोजित ‘नेपालका हिमनदी र हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’ सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदन प्रस्तुत गर्दै यस बारेमा विस्तृत जानकारी दिएका छन्।
जोशीका अनुसार नेपालमा दुई हजार ६९ हिमतालहरू छन्, तर तीमध्ये कोशी प्रदेशका ४२ हिमतालहरू विशेष गरी जोखिममा रहेका छन्। यी हिमतालहरू फुटेमा ठूलो जनधन र भौतिक संरचनामा विनाश हुनसक्ने खतरा रहेको उनले बताए। त्यसैले उच्च सतर्कता र पूर्वतयारीको आवश्यकता रहेको उनले जोड दिएका छन्।
सङ्खुवासभाका भोटखोला र मकालु क्षेत्रका चार हिमताललाई विशेष जोखिममा राखिएको छ। तिनीहरू मध्ये, तल्लो वरूण क्षेत्रस्थित ठूलोपोखरी हिमताल सबैभन्दा जोखिमयुक्त मानिएको छ। १० किलोमिटर लम्बाइ र २०६ मिटर गहिराइ भएको उक्त हिमतालका वरिपरि १५ देखि २५ मिटर गहिराइका पानी भएका स्थानहरू समेत चिन्हित भएका छन्।
जल तथा मौसम विज्ञान विभाग र युएनडिपी नेपालको सहयोगमा यी जोखिमयुक्त हिमतालहरूको लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयन भइरहेको छ। तल्लो वरूणको ठूलोपोखरी हिमताल पनि यस योजनामा समावेश गरिएको छ।
जोशीका अनुसार, यदि हिमताल फुट्ने अवस्था उत्पन्न भए भने अरुण उपत्यकाका धेरै बस्ती र भौतिक संरचनाहरू प्रत्यक्ष जोखिममा पर्नेछन्। साथै, तिब्बत क्षेत्रबाट बगेर आउने १३ हिमतालहरू पनि उत्तरी भेगका लागि संभावित खतरा हुन्।
कार्यक्रममा इसिमोडकी नीरा श्रेष्ठ प्रधानले विपद्मा असक्त, महिला र बालबालिकाहरू सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरूलाई लक्षित गर्दै चेतना अभिवृद्धि र क्षमता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिइन्। यसै बीच, जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमतालहरूको दीगो व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाल र अन्य सरोकारवालाको उपस्थिति थियो। यस अवसरमा हिमताल व्यवस्थापन, जोखिम न्यूनीकरण र स्थानीय तयारीका बारेमा विस्तृत छलफल पनि भएको थियो।
प्रतिक्रिया