तीव्रखबर
काठमाडौं — देशका विभिन्न क्षेत्रमा भोलि (बिहीबार) अपराह्नदेखि भारी वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको सूचनापछि नेपाल प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि उच्च तयारीमा रहन निर्देशन जारी गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार देशभरका प्रहरी इकाइहरूलाई सम्भावित जोखिम आकलन गर्दै समन्वयात्मक रूपमा विपद् व्यवस्थापनको तयारीमा रहन आदेश दिइएको छ।
विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको छ। ‘मोन्था’ भारतको आन्ध्र प्रदेश हुँदै कमजोर हुँदै उत्तर र उत्तरपश्चिमतर्फ सर्दै नेपाल नजिक आइपुगेको र त्यसपछि पूर्वतर्फ सर्दै आज रातिदेखि सक्रिय हुने जनाएको छ।
यस प्रणालीको प्रभाव शनिबारसम्म रहँदा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानको मौसम प्रभावित हुने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ भने कर्णाली प्रदेशका केही स्थानमा समेत हिमपात हुनसक्ने अनुमान गरिएको छ।
यस्तै, कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र यसले दैनिक जनजीवन, कृषि, पर्यटन र पर्वतारोहण गतिविधिमा असर पार्न सक्ने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए। उनका अनुसार, उक्त मौसमीय प्रभाव शनिबारसम्म रहनेछ।
यसैबीच, नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलले पनि सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ। मधेस प्रदेश सरकारले भने आजै उच्च सावधानी अपनाउने निर्णय गरिसकेको छ।
प्रतिक्रिया