November 7, 2026, 4:28 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

“देश निकासको मार्ग : मेलमिलाप र नयाँ सोचको आवश्यकता” – युवा नेता प्रेमबहादुर शाही

कार्तिक ३, २०८२ मा प्रकाशित | ७१३०४ दर्शक तीव्रखबर

कालीकोट, तीव्रखबर – कालीकोट जिल्लाको मान्मामा जन्मिएका प्रेमबहादुर शाही बुद्धिजीवी, विश्लेषक र नेपाली कांग्रेसका युवा नेता हुन्। उनले राष्ट्रिय राजनीतिमा समेत सशक्त उपस्थिति जनाइसकेका छन्। देशलाई आत्मनिर्भर कसरी बनाउने, अहिलेको राजनीतिक दिशा कता जाँदैछ, र सम्भावित समाधान के हुन सक्छ भन्ने विषयमा उनले तीव्रखबरसँग खुलेर कुरा गरे।

 अहिलेको राजनीतिक अवस्थाबारे तपाईंको दृष्टिकोण के छ?

जेनजीहरूको आन्दोलनपछि मुलुकले नयाँ मोड लिएको छ। विद्यमान दलहरूले लोकतन्त्रको नाममा जनताको विश्वास गुमाए। लोकतान्त्रिक मूल्यको सट्टा गुटबन्दी र दलिय सिन्डिकेटको संस्कृतिले राज्यलाई ग्रस्त बनायो।
राष्ट्र र जनतालाई केन्द्रमा राख्नुको सट्टा नेताहरू स्वार्थ र शक्ति सन्तुलनमा अल्झिए। त्यसकै परिणामस्वरूप अनियमितता र भ्रष्टाचार व्याप्त भयो। जनतामा असन्तुष्टि बढ्दै गयो, र अन्ततः जेनजी आन्दोलन विस्फोटको रूपमा देखा पर्यो।

सरकारले त्यस आन्दोलनका जायज मागलाई बेवास्ता गरेपछि परिस्थिती हिंसात्मक मोडतर्फ गयो। परिणामस्वरूप सरकार मात्र परिवर्तन भएन, ठूलो धनजनको क्षति भयो। अहिले बनेको अन्तरिम सरकारले पनि ती माग पूरा गर्न सक्ने क्षमता देखिँदैन। त्यसैले अब राष्ट्रव्यापी मेलमिलापकै बाटोमा जानु जरुरी छ। सबै पक्षले एक कदम पछाडि हटेर सर्वपक्षीय सम्मेलन बोलाउन सके मात्रै स्थायित्व सम्भव हुन्छ।

अब नेपालको राजनीति कुन दिशातर्फ जाँदैछ?

२३/२४ को घटनापछि अनेक विश्लेषण आएका छन्। कतिपयले यसमा बाह्य कारण खोजे पनि मेरो दृष्टिमा मूल कारण आन्तरिक नै हो। राज्यले सुशासन र जवाफदेही शासन दिन नसक्दा जनताले विकल्प खोजे।
संवैधानिक अन्योल र विभाजनले देशलाई थप संकटतर्फ धकेलेको छ। फागुन २१ गते हुने निर्वाचनबाट आउने सरकारले निकास खोज्नुपर्ने हुन्छ। तर, संविधान संशोधनका लागि आवश्यक दुई तिहाइको बहुमत कुनै दललाई नआउने देखिन्छ। त्यसैले पुनः अस्थिरताको चक्र दोहोरिन सक्छ भन्ने चिन्ता छ।

अबको विकल्प राजतन्त्र पनि हुनसक्छ ?

म जनताले चाहेको निर्णयलाई अस्वीकार गर्न हुँदैन भन्ने पक्षमा छु। अहिले दलहरूमा सर्वमान्य नेतृत्वको अभाव छ। जसले सबैलाई एकजुट गराउन, छिमेकी राष्ट्रहरूसँग सन्तुलन कायम गर्न र अन्तर्राष्ट्रिय विश्वास आर्जन गर्न सक्ने क्षमता देखिएको छैन।
त्यसैले “राजतन्त्रको बहस” अस्वाभाविक होइन – जनताको चाहना र राष्ट्रिय एकताको दृष्टिबाट यसको चर्चा हुनसक्छ। तर अन्ततः निर्णय जनताकै हातमा हुनुपर्छ। भु- राजनीतिक जटिलतालाई मध्यनजर गर्दा बि. पि. को मेलमिलापको नीति आकर्षित हुनसक्छ ।

तपाईं नेपाली कांग्रेसका युवा नेता हुनुहुन्छ। अहिले जेनजी पुस्ताले नयाँ नेतृत्व खोजिरहेको छ, तपाईंको विचार के छ?

नेपाली कांग्रेस लोकतन्त्रको नाउँमा जन्मिएको दल हो। तर पछिल्लो समय पार्टी आफ्नो सैद्धान्तिक धरातलबाट विमुख भएको महसुस हुन्छ। समयअनुसार पार्टीले आत्ममूल्यांकन गर्नुपर्छ।
जेनजी पुस्ता निस्वार्थ, उद्यमी र देशप्रेमी पुस्ता हो। नेतृत्व उमेरले मात्र होइन, विचार, दृष्टि र देशप्रतिको इमानदार सक्रियताले पनि परिभाषित हुन्छ।
त्यस अर्थमा म जेनजी पुस्ताको भावना, मर्म र मिशनसँग पूर्ण सहमत छु। पार्टीले पनि यही पुस्ताको ऊर्जालाई अपनाउन सके लोकतन्त्र बलियो बन्छ।

अन्त्यमा, तपाईंको क्षेत्र कालीकोट र वर्तमान कामबारे बताइदिनुहोस्।

म कालीकोटबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँ। तर पार्टीभन्दा माथि देश रहनुपर्छ भन्ने मेरो मूल धारणा हो।
कालीकोट र कर्णाली क्षेत्रको आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि काम गर्दै आएको छु। जडीबुटी व्यवसाय, नीति र योजना निर्माणमा प्रदेश सरकारसँग सहकार्य गर्दै आएको छु। जडीबुटी विकास नीति र विधेयक तयारी समितिमा मेरो सक्रिय भूमिका रह्यो।
विभिन्न सामाजिक र जनसरोकारका विषयमा सम्बन्धित निकायलाई निरन्तर दबाब दिँदै आएको छु। अहिलेसम्म मेरो सार्वजनिक जीवनमा कसैले प्रश्न उठाउने अवस्था छैन। अबको पुस्ताले इमानदार र प्रतिबद्ध नेताको कदर गर्नेछ भन्ने दृढ विश्वास मलाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *